यु १९ एसिया कपमा नेपालको सान्त्वना जित



काठमाडौं, (नेस)
बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपअन्तर्गत आफनो अन्तिम खेलमा युएईलाई ३ विकेटले हराएर सान्त्वना जित हात पारेको छ ।
मंगलबार भएको समूह ए को खेलमा नेपालले युएईले छाडेको २ सय ६९ रनको लक्ष्य दिए पनि सानदार जित हासिल गरेको हो । टोलीको जितमा राष्ट्रिय टोलीबाट समेत खेलिसकेका रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ कारक बन्यो । उनको ९२ रनको सहयोगमा नेपालले ठूलो लक्ष्य ७ विकेट गुमाएर अन्तिम ओभरको पहिलो बलमा प्राप्त गरेको थियो ।

ढाकास्थित किबेएसपी फोर मैदानमा रोहितले ८८ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ९१ रन बनाएका थिए । उनले अन्तिम ५ ओभरमा विस्फोटक ब्याटिङ गरेर जित दिलाए । तर उनी ४९औं ओभरको अन्तिम बलमा रनआउट हुँदा सतक बनाउनबाट चुकेका थिए । यसअगाडि सन्दीप जोराले पनि अर्धसतक प्रहार गरे । उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गरेर ६७ रन बनाए । कप्तान आरिफ शेखले ४६ बलमा ३५ रन जोडे भने विजयी छक्का प्रहार गरेका रसिद खानले २७ रनको योगदान दिए । युएईका लागि आर्यन लेकरा र एरोन बेन्जामिनले समान दुई विकेट लिएका थिए ।

यसअघि युएईका फहाद नवाज र अंश टण्डनले उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । उनीहरुको सानदार शुरुवातको मद्दतमा टोलीले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो । उनीहरुले १ सय ६७ बलमा १ सय ५९ रनको साझेदारी गरेका थिए । फहादले (८३) र अंश (६७) लाई नन्दन कुमार यादवले पवेलियन फर्काएका थिए । अन्य नेपाली बलरमा रसिद र पवन शर्राफले पनि २÷२ विकेट प्राप्त गरेका थिए ।

नेपाल र युएई यसअघि दुई खेल हारेर नै प्रतियोगिताबाट बाहिरिएका हुन् । भारत र अफगानिस्तानले यी दुबै टोलीलाई हराएका थिए । हिजै भएको अर्को खेलमा भारतले अफगानिस्तानलाई ५१ रनले हराएर समूह ए को शीर्ष टोली बन्यो । अफगान टोली हारे पनि समूहको दोस्रो टोली बन्दै सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्