पराजयसँगै नेपाल कठिन मोडमा



नेपाल समाचारपत्र, काठमाडौं
बंगलादेसमा शुरु भएको पाँचौं बंगबन्धु गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमै पराजित भएको छ ।
मंगलबार ढाकास्थित सिलहेट रंगशालामा भएको समूह ए को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २–० गोलअन्तरले हारेको हो । यो हारसँगै प्रतियोगितामा नेपालको स्थिति कठिन मोडमा पुगेको छ । नेपालले समूहको अर्को खेल प्यालेस्टाइनसँग असोज २० गते खेल्नेछ । त्यो खेल नेपालको लागि गर या मरको भएको छ । नेपालले प्यालेस्टाइनलाई हराउनै पर्छ ।

नेपालले पहिलो हाफमा एक गोल बेहोर्दासम्म खेलमा फर्किने आसा थियो । तर दोस्रो हाफमा अर्को गोल बेहोरेपछि नेपालको खेलमा फर्कने संभावना टुहिएको थियो । नेपालले २७औं मिनेटमा पेनाल्टी गोल बेहोरेपछि १–० ले पछाडि परेको थियो । ताजकिस्तानका फाटखुलोएभ फाटकुल्लोले पेनाल्टी गोल गरेका थिए । अनन्त तामाङले विपक्षी खेलाडीलाई लडाएपछि नेपालविरुद्ध पेनाल्टी दिएको थियो । यस्तै ७२औं मिनेटमा टुरुनोभ कोमरोनले अर्को गोल नेपालविरुद्ध थपेका थिए ।

नेपालको लागि निराजन खड्काले नेतृत्व गरेका थिए । नियमित कप्तान विराज महर्जन चोटका कारण प्लेइंग इलेभनमा नपरेपछि निराजनलाई कप्तानको जिम्मा दिइएको हो । विराजको स्थानमा डिफेन्डर सुमन अर्याललाई उतारेको थियो । त्यस्तै गोलकिपर किरण चेम्जोङको अनुपस्थितमा विकेश कुथुलाई खेल्ने मौका पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्