नागरिकको सेवामा तल्लिन हुन प्रहरी महानिरीक्षकको आग्रह



काठमाडौ (नेस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि हरहमेसा कटिबद्ध भई निस्वार्थ सेवा दिनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यसको लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने बताउनुभयो । विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु हुँदैन ।’

उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकांक्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै यसका लागि सुशासनको आवश्यकता पर्ने बताउनुभयो । सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सोलुखुम्बुका जिल्ला न्यायाधीस नारायणप्रसाद सुबेदी, जिल्ला समन्वय समितिका प्रमुख लगायत जनप्रतिनिधिहरुले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।
उक्त भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्