गति नियन्त्रण गर्न टाइम कार्ड



नेपाल समाचारपत्र, पाल्पा
‘यो सवारी साधन होइन, यमराज हो –’ ढुङ्गा,गिट्टी र वालुवा वोक्ने सवारी साधन अर्थात टिपर प्रति सर्वसाधारणले गर्ने टिप्पणी हो यो । पाल्पा जिल्लामा अवका दिनमा यदी व्यवस्था राम्ररी लागू भएमा यो अवस्था आउदैन कि ?

हुन पनि देशका सवत्र स्थानमा टिपरको अत्यधिक गतिका कारण जिल्लामा दिनहुँ दुर्घटना बढ्दै गएपछि जिल्लामा टिपरको अत्यधिक गति नियन्त्रणका लागि जिल्लामा टिपर टाईम कार्ड लागू भएको छ । टिपरको अत्याधिक गतिका कारण जिल्लामा दिनहुँ दुर्घटना बढ्दै गएपछि दुर्घटना न्युनिकरणका लागि टिपर टाईम कार्ड लागू गरिएको हो । टिपर चालकहरुले ट्रिप अनुसारको ज्याला पाउने भएपछि आपसी प्रतिष्पर्धा र अत्यधिक गतिका कारण जिल्लामा दुर्घटना बढ्दै गएको जनगुनासो बढ्दै गएपछि टिपर टाइम कार्डको व्यवस्था गरिएको हो ।

जिल्लाका विभिन्न सडक तथा राजमार्गहरुमा दैनिक रुपमा एक हजार दुई सय टिपरले चुनढुङ्गा ओसार पसार गर्दै आएका छन । जिल्लामा खानी क्षेत्र बढ्दै गएकाले टिपरको संख्या दिनहु बढ्दै गएको छ । राजमार्ग क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्राफिक प्रहरीको सक्रियतामा तानसेन तम्घास सडक खण्डको हार्थाेक देखी तानसेन बुटवल खण्डको दोभान प्रहरी चौकी सम्म टिपर टाईम कार्ड लागु गरिएको हो । रैनादेवी छहरा गाउँपालिका वडा १ सिद्धेश्वर क्षेत्रमा सञ्चालनमा रहेको सर्वाेत्तम सिमेन्टको खानीबाट ढुवानी गर्दै आएका टिपरहरुका लागि पहिलो चरणमा टिपर टाईम कार्ड लागु गरिएको छ ।

हार्थाेकबाट दोभान सम्म ५० किलोमिटर दुरी २ घण्टा ३० मिनेट समयमा पुग्ने गरी टाईम कार्डको व्यवस्था गरिएको छ । हार्थाेकबाट टाईम कार्ड लिएका टिपरहरुले दोभान प्रहरी चौकीमा पुगेको समय टाईम लेखाउनु पर्ने छ । यही तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियम अनुसारको कारवाहीमा पर्ने छन् । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, ट्राफिक प्रहरी प्रमुख डम्वर गिरी लगायतले लु २ ख २२६६ नम्वरको टिपरका चालक रामकुमार लामालाई टाईम कार्ड हस्तानतरण गरी अभियानको शुरुवात गरेका हुन् ।

प्रत्येक टिपर चालकहरुलाई एक÷ एक वटा टाईम कार्ड पुस्तिका वितरण गरिएको छ । टिपर कार्डलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि जिल्ला प्रशासनको महत्वपूर्ण भूमिका रहने प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । हार्थाेक देखी दोभान सम्मको ५० किलोमिटर दुरी टिपर चालक सँगै बसेर यात्रा गरी २ घण्टा ३० मिनेट समय तय गरिएको प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए । टिपर सँगै अन्य सार्वजनिक यातायातमा पनि टाइम कार्ड लागु गरिने प्रहरी उपरिक्षक पोखरेलले बताए । टाईम कार्डले तीव्र गतीलाई रोक्ने, दुर्घटनामा कमी ल्याउने, यात्रुहरुलाई सडकमा सहज रुपमा यात्रा गर्न सजिलो बनाउने, अस्वस्थ प्रतिष्पर्धा हटाउने, टिपर व्यवसायलाई मर्या्दित र व्यस्थित बनाउने, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्वर गिरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्