‘चार बर्षभित्र खाँडादेवी मन्दिरसम्म केबलकार सञ्चालन गछौं’



निर्वाचनको क्रममा गरेको प्रतिबद्धता अनुसार काम हुन नसकेको भन्दै स्थानीय तहमा असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको पनि डेढ बर्ष वितिसकेको छ । सिंहदरवारको अधिकार गाउँगाउँमा पुगे पनि अझै पनि पूर्ण रुपमा अधिकारको उपभोग भने नागरिकहरुले गर्न पाएका छैनन् ।

रामेछापको खाँडादेवी गाउँपालिले पनि गाउँपालिकालाई समृद्धि बनाउने नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । तर नागरिकहरुमा विकास निर्माणको तीब्र चाहना अनुसारको काम भने हुन नसकेको गुनासो जनस्तरबाट उठन थालेको छ । गाउँपालिकाको नौ वटै वडाको समग्र विकास निर्माणको अवस्था, आगामी दिनमा गाउँपालिकालाई समृद्ध बनाउने योजना, समस्या र चुनौती लगायतको विषयमा केन्द्रीत भएर खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

प्रेमबहादुर तामाङ
अध्यक्ष, खाँडादेवी गाउँपालिका, रामेछाप

निर्वाचनको क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार काम नभएको गुनासो छ नि ?
निर्वाचनको क्रममा समृद्ध खाँडादेवी गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्ति गरिएको हो । गाउँपालिकाभित्र विकास निर्माणको काम अगाडि बढेको छ । हामीले जनताको न्युनतम आवश्यकतालाई पहिचान गरेर काम अगाडि बढाएका छौं । सडक, खानेपानी, स्वास्थ्य शिक्षा, कृषि, विद्युतीकरण लगायतको कामलाई विशेष महत्व दिएर कार्यक्रम अगाडि बढाएका छौं । प्रतिबद्धता अनुसारको नीति तथा कार्यक्रम र बजेट निर्माण गरेर अहिले धमाधम काम गरिरहेका छौं ।

अहिले स्थानीय तहमा आवश्यक कर्मचारी छैनन ?
गाउँपालिकामा २६ जना कर्मचारी हुनु पर्ने हो । नौ वटा वडामा नौ जना सचिव हुनुपर्ने हो । तर अहिले तीन जना मात्र वडा सचिव छन् । गाउँपालिकामा अधिकार त आयो । तर आवश्यक कर्मचारी भने आएका छैनन् । हामीले सुरुदेखि नै कर्मचारीको माग गर्दै आएका छौ । अहिलेसम्म आवश्यक कर्मचारी पाइएको छैन् । यसको लागि गाउँपालिकाले काम गरिरहेको छ ।

गाउँपालिकामा मापदण्ड विपरीत सडक निर्माण हुँदा जोखिम पनि बढ्यो भन्छन नि ?
–जनताको माग अनुसार सडक निर्माण गरेका छौं । गत बर्ष हामीले सडकलाई नै प्राथमिकता दिएर बजेट विनियोजन गर्यौ । तर बजेट अनुसारको सडक दिगो हुन सकेन । अब सडक मात्र निर्माण गर्ने भन्दा पनि दिगो बनाउनेतर्फ हामीले ध्यान दिएका छौं ।

गाउँपालिकाको मुख्य सडकको डिपिआर बनाएर मात्र सडक निर्माण गर्ने योजना अगाडि सारेको छ । हामीले गाउँपालिकाभित्रको मुख्य सडकलाई व्यवस्थित बनाउनको लागि स्पष्ट योजना बनाएका छौं । तत्काल कालोपत्रे गर्ने, ढल हाल्ने त गाउँपालिकास्तरबाट सम्भव छैन् । पालिकाभित्र निर्माण गरिएका सडकहरु बर्षाको समयमा ध्वस्त हुने गरेका छन् । अहिले गाउँपालिकाको ९ वटै वडामा यातायात सञ्चालन हुने अवस्था छ । हामीले सडकको स्तरउन्नती गर्नेतर्फ नै ध्यान केन्द्रीत गरेका छौं ।

गाउँपालिकाभित्र खानेपानीको निकै ठूलो समस्या छ । समाधानको लागि के गरिरहनुभएको छ ?
–खाँडादेवी गाउँपालिका अधिकाशं क्षेत्र सुख्खा क्षेत्रमा पर्छ । खानेपानीका प्राकृतिक मुहान निकै कम छ । लिफ्ट खानेपानी नै एक मात्र विकल्प हो । हामीले तत्काल घर घरमा पानी पु¥याउन नसकेपनि अत्यावश्यक पिउने पानीको व्यवस्थापन गर्ने कार्यक्रम अगाडि बढाएका छौं । त्यसैगरी हालको बजेटमा खानेपानी टयाङ्कर खरिद गर्ने निर्णय गरेका छौँ । जनताको माग अनुसार टयाङ्करले जनताको घरमा पानी पु¥याउछ । वस्तुहरुको लागि बर्षाको पानी संकलन गर्ने अभियान सञ्चालन गरेका छौं ।

कृषि क्षेत्रको विकासको लागि के–के काम गरिरहनुभएको छ ?
–कृषिको लागि यो बर्ष पकेट क्षेत्र छुटयाएर नै काम गर्ने योजना अगाडि सारेका छौं । जुन पकेट हो त्यो क्षेत्रमा मात्र अनुदान दिने गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाको माथिल्लो क्षेत्रमा चिया खेती हुन्छ । गाउँपालिकाको खाँडादेवी, माकादुमको माथिल्लो क्षेत्रलाई चिया पकेट क्षेत्र भनेर राखेका छौं । त्यसैगरी तल्लो क्षेत्रमा अनार, केरा, कफी लगायतका फलफुल लगाउन सकिने गरी सिफारिस गरेका छौं । नदी तथा खोला किनारका कृषि योग्य क्षेत्रमा तरकारी उत्पादन गर्ने योजना छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना पनि छ । पकरवासको माडीफाँट, गागलटार र माकादुमको गोगनीलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास खर्च खोजेका छौं ।

कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुले उचित मुल्य नपाउने गरेको गुनासो छ नि ?
–अहिले जति उत्पादन हुन्छ त्यसको व्यवस्थापन गाउँपालिकाले नै गर्छ । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले उचित मुल्य नपाउने गरेको गुनासो सत्य हो । बीचमा बिचौलीयाहरुको चलखेलको कारण उचित मुल्य पाउन सकेका छैनन् ।

गाउँपालिकाभित्र रोजगारी सृजना गर्ने विषयमा के योजना छ ?
–रोजगारी सिर्जना गर्ने विषयमा हामीले विदेशबाट स्वदेश फर्किएका र विदेश जान लागेका युवाहरुलाई लक्षित गरेर कार्यक्रम राखेका छौँ । गाउँघरमा नै उद्यम गर्न चाहने युवाहरुलाई अनुदान पनि दिन्छौ । युवाहरुले योजना बनाएर आएको अवस्थामा पालिकाले सहुलित ऋणमा अनुदान उपलब्ध गराउछ ।

बार्षिक आम्दानी भएपछि उसले २० प्रतिशत हामीलाई बुझाँउछ । हामीले वैदेशिक रोजगारमा जान खोजेका र फर्केका युवाहरुको तथ्याङ्क संकलन गरेका छौँ । पालिकाले अब विदेश जानै नदिने र युवाहरुको युवा संसद तयार गरेका छौँ र युवा लक्षित कार्यक्रम पनि बनाउदैँ छौँ । विदेश जाने युवाहरुलाई रोकेर गाउँघरमा नै रोजगारी सृजना गर्न नसके हाम्रो पालिकाको विकास सम्भव छैन् ।

गरिब परिचयपत्र वितरणमा धनी बढी परे भन्छन नि खास कुरा के हो ?
–यो धेरै चर्चाको विषय बनेको छ । परिचयपत्र वास्तविक गरिबलाई होइन धनीलाई दिइएको छ । यो विषयमा विरोध गरेका छौँ । पाँच बर्ष अघि वितरण गर्नुपर्ने परिचय पत्र अहिले वितरण गर्दा व्यवहारिक बनेका छैन् । तीन बर्षमा गरिब मान्छे नि धनी भैसकेको हुन्छ ।

मैले धनीले गरिब परिचयपत्र पाउने भएपछि गाउँपालिकाको केन्द्रमा सबै परिचयतपत्र लिनेहरुको सूचीसहितको विवरण वडापत्रमा राख्ने भनेको छु । धेरै धनी मान्छेको परेको हुँदा गरिबको होइन धनीको परिच पत्र भन्ने गरेको छु । तर सरकारले गरेको निर्णय हामीले कार्यान्वयन गर्नुपर्छ ।

स्वास्थ्य र शिक्षाको सुधारका लागि पालिकाले कस्तो कदम चालेको छ ?
–स्वास्थ्यको विषयमा ९ वटा वडामा ८ वटा स्वास्थ्य चौकी छ । त्यसलाई व्यवस्थित गर्नको लागि सामुदायिक स्वास्थ्य केन्द्रहरु २÷३ वट थपेर सुधार गर्ने क्रम जारी छ । सरकारले स्थानीय तहको केन्द्रमा १५ सैयाको अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । हामी अस्पताल निर्माण गर्ने ठाउँको व्यवस्थापन गर्न जुटेका छौं । अहिलेसम्म १० रोपनी जग्गा प्राप्त भएको छ । तत्काल अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएर गाउँघरमा नै स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गछौं ।

शिक्षाको हकमा एउटा प्राविधिक शिक्षालाई सरकारबाट बजेट आएको छ । खाँडादेवीमा सिभिल सिटिभिटी प्राविधिक शिक्षाको अनुमति प्राप्त भएको छ । त्यसलाई हामीले यस बर्षदेखि प्रयोगमा ल्याएका छौँ । अङ्ग्रेजी माध्यमबाटै पठनपाठन गर्ने भनेर हामीले गाउँसभाबाटै पारित गरिसकेका छौं । गाउँपालिकाभित्र १२ वटा मावि, ५८ वटा निमावि र प्राथमिक विद्यालयहरु छन् । हामीले शिक्षा क्षेत्रको गुणस्तर सुर्धानको लागि काम गरिरहेका छौं ।

खाँडादेवी मन्दिर हुँदै सैलुङसम्म केबलकार सञ्चालनको काम के भइरहेको छ ?
–सित्खा–खाँडादेवी मन्दिर गाल्वा दोरम्बा हुँदै सैलुङसम्म केबलकार निर्माण गर्नको लागि प्रदेश सरकारले डिपिआरको लागि बजेट विनियोजन गरिसकेको छ । अब तत्काल डिपिआरको काम अगाडि बढ्छ । हाम्रो कार्यकालमा नै खाँडादेवी मन्दिरसम्म केलबार सञ्चालन हुन्छ । त्यस काममा हामी जुटेका छौं । डिपिआर बनेलगत्तै लगानी गर्न धेरैले चासो देखाउनु भएको छ । यस क्षेत्रमा केबलकार निर्माण गरेर पर्यटक भित्र्याउन सकेको अवस्थामा खाँडादेवी गाउँपालिकाको मुहार फेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्