गाउँपालिका राष्ट्रिय महासंघको अधिवेशन बुटवलमा शुरु



आवधिक योजना बनाएर कामगर्न स्थानीय तहलाई आह्वानः मुख्यमन्त्री पोखरेल

यमलाल भुसाल, बुटवल ।
गांउपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश नम्बर पांचको प्रथम अधिवेशन सोमबारदेखि बुटवलमा शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रदेश स्तरीय उक्त अधिवेशनको प्रदेश नम्बर पांचका मुख्यमन्त्री शंकर पोखरेलले एक समारोह बीच उद्घाटन गर्नु भएको हो ।
सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आवधिक योजना बनाएर कामगर्न स्थानीय तहलाई आग्रह गर्नु भयो । उहाँले जनताको जीवन स्तरलाई उकास्ने गरी योजना बनाएर काम गर्नुपर्ने बताउदै योजना विना काम नगन स्थानिय जनप्रतिनिधीलाई निर्देशन दिनु भर्यो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कृषि र पशुजन्य उत्पादनमा कर नलगाएको बताउनु भयो । उहाँले विगतको गाविसको मानसिकताबाट माथि उठेर काम गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । कर व्यवसायीबाट उठाउनु पर्ने र किसानबाट उठाउन नहुने उहाँले जिकिर गर्नु भयो ।

किसानहरुलाई कर लगाए कृषि र पशु उत्पादनको आयतमा ठूलो रकम बाहिरिने बताउदै उहाँले किसानहरुलाई उत्साहित गर्नुपर्ने र त्यसका लागि किसानले उत्पादन गरेका कृषि र पशुजन्य उत्पादनको लागि वजार व्यवस्थापन गरर्दिनु पर्ने धारणा राख्नु भयो ।
प्रदेश सरकारले अनावश्यक कर नलगाएको बताउंदै उहाँले प्रदेश सरकारका कारण जनताले दुःख नपाएको दावी गर्नु भयो । संविधान पढेर बोल्न आग्रह गर्दै उहाँले थप अधिकारका लागि छलफल गर्ने बेला नभएको समेत बताउनु भयो ।

संघीय, प्रदेश र स्थानीय सरकारको काम कर्तव्य र अधिकार संविधानको अनुसूचीले छुट्टाएकाले विवाद गर्नुपर्ने कूनै कारण नभएको उहाँको कथन थियो ।

संविधानका अनुसूची अनुसार काम गरिएमा संघीयता कार्यान्वयन हुने बताउंदै नेपालको संघीयता आयतित नभएर सहकारिताको सिद्वान्तमा आधारित भएको दावि गर्नु भयो ।

नेपाली कांगे्रसका नेता तथा संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँंणले सेवासुविधा र अधिकार दिएर स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने बताउनु भयो ।

जनताले सरकार भनेर स्थानीय सरकारलाई बुझेको उल्लेख गर्दै स्थानीय जनप्रतिनिहिरुलाई काम गर्न ठूलो चुनौती भएको बताउदै उहाँले स्थानीय सरकारका जनप्रतिनिधिहरु जनताप्रति बढी जवाफदेही हुनुपर्ने भएकाले कामगर्न अफठ्यारो भएपनि जनताको काममा लाग्न आग्रह गर्नु भयो ।

जनताको आम्दानी घटेको र करको बोझ बढेको छ भन्दै नेता खाँणले जनताको आम्दानी बढाएर मात्र करको दायारा बढाउनु पर्ने बताउंनु भयो ।

द्वन्द्वलाई व्यवस्थापन गर्न र स्थायी शान्ति कायम गर्नका लागि स्थानीय सरकारका जनप्रतिनिधिहरुले संघीय र प्रदेश सरकारलाई सुझाव दिनुपर्ने बताउनु भयो ।

जनतालाई चित्त बुझाउन संघीय लोकतान्त्रिक गणतन्त्र ल्याईएको बताउंदै उहाँले संघीयता फेल भए नागरिकले अर्को समस्या भोग्नुपर्ने बताउनु भयो । गाउंपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष होम नारायण श्रेष्ठले संविधानले विभेद गरेपनि स्थानीय सरकारलाई जनताले सम्मान गरेको बताउनु भयो ।

उहाँले संघीय सरकार र प्रदश सरकारबीच ऐन नियम बाझिंदा स्थानीय सरकारलाई समस्या भएको बताउनु भयो ।
गाउंपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर पांच तदर्थ समितिका संयोजक मधुकृष्ण पन्तले स्थानीय तहको लागि पहिलो वर्ष सिकाईको वर्ष भएको बताउनु भयो ।

महासंघका महासचिव बशंलाल तामाङ, सल्लाहकार नारायण कोईरालाले स्थानीय सरकारलाई अधिकारबाट विमुख गराउन नहुने बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नजिर मियां, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, नयां शक्ति नेपालका छन्द पन्थी, संघीय लोतान्त्रिक फोरमका अशोक यादव, बुटवल उद्योग वाणिज्य संघका उज्जवल कसजु, पूर्व सचिव वालानन्द पौडेल, लगायतले संघियताको सफलताका लागि जनप्रतिनिधीहरु आस्था भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो । भोली मंगलबार सकिने अधिवेशनले महासंघको नयां नेतृत्व चयन गर्ने र बुटवल घोषणा पत्र जारी गर्ने गाउंपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर पांच तदर्थ समितिका सहसचिव विष्णुकुमार गिरीले बताउनु भयो ।

प्रदेश नम्बर पांचका ७३ गाउंपालिकाका २ सय ९२ जना जनप्रतिनिधिको सहभागिता रहेको छ । फोटो पनि छ ।

प्रतिक्रिया दिनुहोस्