जापानको ताइफ़ुमा एक जनाको मृत्यू, १०० भन्दा बढि घाइते



राजबिन थापा, टोकियो।

लगातार प्राकृतिक विपत्ति झेलिरहेको जापानमा यो सिजनको २४ औ ताइफु त्रामी का कारण जनजिवन प्रभावित बनेको छ ।

शुक्रबारदेखि ओकिनावा प्रिफेक्चरमा देखिएको ताइफुले आइतवार साँझदेखि मुख्य द्धिप होन्सुमा आफ्नो प्रभाव देखाएको छ । ताइफुका कारण एक जनाको मृत्यू भएको छ भने २ जना सम्पर्कविहिन बनेका छन् । त्यस्तै ओकिनावा, कागोसिमा सहितका अन्य प्रिफेक्चरहरुमा गरि १०० जनाभन्दा बढि घाइते भएको एनएचकेले जनाएको छ ।

जापान मेटोरोजिकल एजेन्सीका अधिकारीहरुले विहान ४ बजे दिएको जानकारी अनुसार त्रामी अहिले ७० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ । जसको केन्द्रभागमा वायुमंडलीय दबाव ९७० हेक्टोपास्कल छ र वायुको बहाव १२६ किलोमिटर प्रतिघण्टा छ ।

जापानको मुख्य द्धिप कान्तो–कोसिनेत्सु क्षेत्रमा हावाको उच्च बहाव थियो । तोहोकु का केही भाग तथा कान्तो–कोसिनेत्सु क्षेत्र तूफानी क्षेत्रअन्तर्गत छन् ।

टोकियोको हाचिओउजीमा सबैभन्दा बढि वायुको गति मापन भएको छ जुन प्रतिघण्टा १६४ किलोमिटर हो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनीका अनुसार कान्तो–कोसिनेत्सु क्षेत्रमा मात्र ५ लाख १० हजारभन्दा बढि घरहरुमा विद्युत प्रवाह रोकिएको छ ।

तोत्तोरी प्रिफेक्चरमा एक जनाको मृत्यू भएको छ भने एक जना हराइरहेका छन् । मियाजाकी प्रिफेक्चरमा अर्का एकजना हराइरहेको समाचारमा उल्लेख छ । उनी खेतमा काम गरिरहेको र सिंचाइका लागि बनाइएको नहरमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मौषम अधिकारीहरुले मध्य र पश्चिमी जापान तथा उत्तरी द्धिप होक्काइदोमा गरि १ लाख ८० हजारभन्दा बढिलाई सुरक्षित स्थलमा जान भनिएको छ ।

ताइफुका कारण सडक तथा हवाई र रेल यातायात प्रभावित बनेको छ । सोमबार मात्र २१० आन्तरिक उडानहरु रद्द गरिएका छन् ।

ओकिनावा देखि होक्काइदो सम्म नै असर पार्ने यस आँधीमा सचेत रहन मौषम एजेन्सीका अधिकारीहरुले निरन्तर चेतावनी दिइरहेका छन् । सामुन्द्रिक किनारमा तिब्रगतिको हावा, भारी बर्षा सहित छालले ठूलो असर पार्ने हुँदा जोगिन उनिहरुले आग्रह समेत गरेका छन् ।

सिन ओसाका र हाकातावीचमा चल्ने सिनकानसेन बुलेट ट्रेन सेवा सोमबार विहानदेखि सुरु भएको छ ।

टोकियो र यस आसपासका क्षेत्रमा ताइफुको प्रभाव ठूलो देखिएको थियो । रातीको समयमा घर नै उडाउला जस्तो गरि आएको हावाहुरी आँफुले टोकियोमा पहिलोपटक महशुष गरेको धेरै नेपालीहरुको प्रतिकृया सामाजिक संजालमा देख्न सकिन्थ्यो ।

यही महिनाको सुरुवातमा जेबी नामक २५ बर्ष यताकै सबैभन्दा शक्तिशाली मानिएको ताइफु ले ठूलो असर पारेको थियो । दर्जन बढिको ज्यान लिएको सो ताइफुकै कारण कान्साई अन्तराष्ट्रिय विमानस्थल केही दिनका लागि बन्द समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्