इन्डोनेसियामा भुकम्प र सुनामी: मर्नेको संख्या ८ सय ३५ , दुईगुणा बढ्ने अनुमान



पालु (एजेन्सी)
इन्डोनेसियाको सुलावेसी द्विपमा शुक्रबार आएको ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प र सुनामीमा मर्नेको संख्या ८ सय नाघेको छ । अधिकारीहरुले मर्नेको संख्या ८ सय ३५ को मृत्यु पुगेको र यो संख्या दुईगुणा पुग्न सक्ने बताएका छन् । भुकम्प र सुनामीबाट घाइते हुनेहरु ५ सय भन्दा बढी भएको अधिकारीहरुले बताए ।

सुलावेसी द्विपमा पराकम्पन आउने क्रम जारी रहेको र त्यहाँका वासिन्दा त्रासदी रहेको बताइएको छ । यस विपत्तीबाट प्रभावितहरुसम्म राहत पुर्याउन इन्डोनेसियाको सेना परिचालन गरिएका छन् ।

अहिलेसम्म धेरैजना बेपत्ता रहेको र ती मध्य धेरैजसो भग्नावशेषमै पुरिएको हुन सक्ने अधिकारीहरुले बताए । सुलावेसी द्विपका प्रमुख सहर पालु र भुकम्प केन्द्र नजिकको डोंगाला सहर सबैभन्दा धेरै प्रभावित भएको छ ।

सरकारको विपत्ती ब्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुगोरोले पालु र डोंगालामा मेर्नेको संख्या अझै धेरै बढ्ने बताएका छन् । उनले भने– प्रभावितहरुलाई सुरक्षित निकाल्न र मारिएकाहरुको पहिचान गर्ने काम भइरहेको छ । हाम्रो अनुमानमा पालु र डोंगाला दुबै ठाउँमा भुकम्प र सुनामीका कारण मर्नेका संख्या बढ्न सक्छ । हामीलाई प्राप्त समाचारमा कयौं स्थानमा सुनामीको छाल ६ मिटर अर्थात २० फिट अग्लो थियो र मानिसहरुले त्यो भन्दा अग्ला रुखमा चढेर आफना ज्यान बचाएका छन् ।


इन्डोनेसियाका उप राष्टपति युसुफ कालाले अहिलेसम्म भुकम्पको केन्द्र विन्दु नजिकको सहर डोंगालामा भएको क्षतिको विवरण प्राप्त हुन नसकेको बताए । उक्त सहरमा मर्नेको संख्या हजारौंमा हुन सक्ने अनुमान गरिएको छ । डोंगालामा करिब ३ लाख आवादी रहेको छ ।

सुलावेसी द्विपको प्रमुख सहर पालुमा हजारौं नागरिक आश्रय स्थलमा बसिरहेका छन् । अन्तराष्ट्रिय रेडक्रस महासंगका जेन गेफल्यान्डले उद्धारकर्मीहरु प्रभावित क्षेत्रसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् । उनले भने– उद्धारकर्मीहरु अहिलेसम्म पालु सहरसम्म मात्र पुग्न सकेका छन् । डोंगालाका कयौं दुर्गम इलाकासम्म पुग्न अहिलेसम्म सकेको छैन । त्यहाँ धेरै नोक्सान भएको हुन सक्ने हामीलाई लागेको छ ।

प्रभावित सहरको सडकमा शवहरु अलपत्र अवस्थामा परेका छन र अस्पताल ध्वस्त भएकोले घाइेतेको उपचार टेन्टहरुमा भइरहेको छ ।

इन्डोनेसिया भुकम्प आइरहने क्षेत्रमा पर्छ । हालैका महिनामा यहाँ कयौं पटक ठुला भुकम्प आएका छन र त्यसबाट ठुलो धनजनको क्षति पुगेको थियो ।
पालु स्थित स्थानिय विमानस्थल पनि आंशिक रुपमा क्षतिग्रस्त भएकोले राहत तथा उद्धार कार्यमा समस्या आइरहेको इन्डोनेसियाली सेनाले जनाएको छ ।

३ लाख ८० हजार जनसंख्या रहेको पालु सहरमा भुकम्पपछि आएको सुनामीले विध्वंश मच्चाएको हो । सहरमा उद्धार कार्य शुरु भइसकेको र त्यहाँको टेलिफोन सेवा तथा विद्युत आपुर्ति ठप्प भएको एक मन्त्रीले जानकारी दिएका छन् । गत अगस्ट ५ मा इन्डोनेसियाको लामबाकमा आएको शक्तिशाली भुकम्पमा ४ सय ६० भन्दा धेरैको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्