प्रदेश १ को सभामा राजधानीको बहस, सिंचाई सम्बन्धी विधेयक पारित



सरोज यादव, विराटनगर ।
प्रदेश १ का संरचनाहरु धेरै स्थानमा राख्ने तयारी गरेको खबर सार्वजनिक भईरहदा विपक्षी र सत्तारुढ दलका सांसदहरुले समेत त्यसको आलोचना गरेका हुन् । प्रदेशसभाको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विपक्षी दल र सरोकारवालाहरु संग कुनै परामर्श नगरी राजधानीको नाममा सरकारले के पकाइरहेको छ सदनलाई जानकारी दिनुपर्ने माग गरे ।

बृहत विराटनगरको नाममा राजधानीलाई विकेन्द्रीत गर्ने प्रयास प्रदेश र प्रदेशवासीको हित विपरित हुने भन्दै उनले १४ वटै जिल्लालाई समेटेरै बृहत विराटनगरमा बनाउने की भन्दै व्यङ्ग्य समेत गरे । कांग्रेसकै सांसद सुयर्माराज राईले राजधानी र नामांकरण टुङ्ग्याउन ढिला भइरहेको भन्दै राजधानी छरपष्ट पार्ने प्रयास संघीयताको मर्म र भावना विपरित हुने दावी गरेका छन । प्रदेश राजधानीकै बारेमा निर्णय गर्न नेकपाले संसदीय दलको बैठक बोलाएपछि यो विषयले चर्चा पाएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका कार्यपालिका, व्यवस्थापीका, प्रदेश प्रम्खको कार्यालय लगायत संरचनाहरु अलग अलग स्थानमा राख्ने आन्तरिक प्रस्ताव गरेपछि नेकपा भित्र र बाहिरपनि त्यसले तरंग सिर्जना गरेको छ । नेकपाकै सांसद विजय विश्वास थारुले राजधानी छर्नेकुरा गलत हुने भन्दै व्यवस्थापिका र कार्यपालिका एकै स्थानमा हुनुपर्ने बताए । अहिले सबै हिसाबले विराटनगर नै राजधानी हुनुपर्ने उनको धारणा छ ।

यसैबीच एक नम्बर प्रदेशसभाले सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको ४८ औं बैठकले २३ औं विधेयकको रुपमा सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो । विधेयक उपर दफावार छलफल गरी प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिले सदनमा प्रस्तुत गरेको प्रतिवेदन माथि आज छलफल सहित विधेयक पारित भएको हो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले पनि सिंचाइ सम्बन्धी कानुन बनाउन नसकिरहेको अवस्थामा एक नम्बर प्रदेशले सर्वसम्मतिले उक्त विधेयक पास गरेर सफलता हासिल गरेको बताए । प्रदेशसभाले यसअघि २२ वटा विधेयक पारित गरिसकेको छ । प्रदेशसभाको पहिलो अधिवेशनले १० वटा विधेयक पारित गरेको थियो भने दोश्रो अधिवेशनबाट १३ वटा विधेयक पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्