भ्रमणले बढाउने भाऊ



विदेश भ्रमण जाने मिति तय भएपछि प्रधानमन्त्री, मन्त्री र नेताहरुको चुरीफुरी बेग्लै हुन्छ । भ्रमण सात समुद्र पारीको होस् या निकटका छिमेकको नै किन नहोस्, उनको भाउ ह्वात्तै बढ्छ । झन् भ्रमण सकेर फर्किएकाहरुको गफ सुनि साध्य हुँदैन ।

आफ्नै कारणले ठूला परियोजनामा लगानी भित्रिने निश्चित भएको दावी गर्नेहरु एकसेएक देखिन्छन्, भेटिन्छन् । साताव्यापी चीन भ्रमणपश्चात स्वदेश फर्किएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही यो मामलामा झनै अब्बल देखिए । कर्णाली चीन द्रुत मार्ग, रेलमार्ग मात्रै हो र, अन्तर्राष्ट्रियस्तरको कर्णाली विमानस्थल र कर्णाली लक्षित अनगिन्ती परियोजनामा चिनियाँ लगानी भित्रिने बताए ।

कर्णाली प्रदेशको छुट्टै एयरलाइन्स कम्पनी स्थापना गर्न चिनियाँ पक्षलाई आफूले रिझाएको खवर सुनाउन पाउँदा उनी निकै गदगद देखिए । मुलुकका धेरै विमानस्थल जहाज अभावमा गाई–भैसी चर्ने खर्क बरिहेका बेला उनले सुनाएको खवर के कसरी कार्यान्वयन हुने हो भन्नेमा धरहरालाई निकै खसखस लाग्या छ । आफ्नै प्रदेशका लथालिङ विमानस्थलमा नियमित विमान उडाउने उनको योजना छ, छैन यसो सुन्न पाए हुन्थ्यो ।

‘पहिला देश अनि विदेश’ भन्ने नारा केही महिना अघि उनकै पार्टीको सरकारले घन्काएको थियो क्यार, सो नारा आफ्नै प्रदेशका विकास परियोजनाका लागि चाहिँ सान्दर्भिक हुन्छ हुन्न होला ?

प्रतिक्रिया दिनुहोस्