एनआरटी जितबाट वंचित, आर्मी भाग्यशाली



एनआरटीका डिकेश खड्गीलाई छल्याउँदै आर्मीका सुमन अर्याल (रातो) तस्वीरः एन्फा

फिरोज राजोपाध्याय, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिगका लागि करिब ४ वर्षको पर्खाई शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा समाप्त भएको छ । उदघाटन खेलमा नेपालकै पुरानो क्लब न्युरोड टिम (एनआरटी) र विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदा बराबरीमा टुंगियो । एनआरटीले सानदार खेलले आर्मीलाई रोक्दै जित हात पारिसकेको अवस्था थियो । तर अन्तिममा इन्जुरी समयको छैटो मिनेटमा गोल बेहोरेपछि एनआरटीले आर्मीसँँग २–२ गोल बराबरीको नतिजा स्विकार्नु प¥यो भने आर्मी अन्तिममा भाग्यशाली बन्यो ।

आर्मी दुई पटक पछाडि परेको स्थितिमा दुबै पटक खेलमा फर्कनका लागि रेफ्री सुदिस पाण्डेको भुमिका कारक बन्यो । अन्तिमतिर गोलकिपर अजित प्रजापतिले समय खेर फालेको भन्दै पाण्डेले आर्मीलाई अप्रत्यक्ष रुपमा फ्रिकिक हान्ने मौका दिए । सन्तोष तामाङले सो मौका जान दिएनन् र गोल गर्दै आफनो टोलीलाई हारबाट जोगाएका थिए ।
यसअघि पनि आर्मी १–० ले पछि परेको स्थितिमा रेफ्री पाण्डेले एनआरटीको डिबक्समा टोलीका खेलाडीले बल हातले छोएको बहानामा आर्मीलाई पेनाल्टी हान्ने अवसर सिर्जना गरे । सन्तोषले नै पेनाल्टी गोल गर्दै आर्मीलाई १–१ बराबरीमा पु¥याएका थिए ।

खेलमा एन्फाले सानदार खेल देखाएको थियो । शुरुमा अलि आर्मीले दवाव राखेपनि काउन्टर एट्याकमा एनआरटी खतरनाक देखिएको थियो । यसैको फलस्वरुप रोजीत पुडासैनीले १२औं मिनेटमा गोल गर्दै एनआरटीलाई १–० को अग्रतामा राखेका थिए । कर्नर बललाई पहिले निशान लिम्बुले कडा प्रहार गरे तर उनको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए । तर सो बल रिबाउन्ड हुन पुग्यो र दायाँ रहेका रोजीतले कुनै गल्ती नगरी जाली चुमाइदिएका थिए । यो गोलमा एनआरटीका बाक्लै समर्थकले खुशी मनाउन कुनै कसर छाडेनन् ।

एनआरटी २ आर्मी २
रोजीत पुडासैनी १२’
राजेश परियार ६४’ सन्तोष तामाङ (३८’ र ९० प्लस ६’)

यसपछि आर्मी आक्रमकमा आएको थियो । ३ वटा खतरनाक आक्रमणलाई गोलकिपर अजीत र आशीषले बचाएका थिए । सुमन अर्यालद्वारा क्लोज रेन्जमा हेड प्रहार गरेका थिए । गोलकिपर अजीतले सो प्रहारलाई बचाउन नसकेपनि आशीषले गोललाइनबाट क्लियर गरिदिएका थिए । यस्तै नवयुग श्रेष्ठको फितलो प्रहार अजीतले सहजै बचाए भने भरत खवासको डिबक्स छेउबाट प्रहार गरेको बललाई भने अजीतले सुन्दर ढंगले बचाएका थिए । तर ३८औं मिनेटमा भने हुलमुलमा ह्यान्ड बल भएपछि आर्मीलाई बराबरी गर्न मौका पाएको थियो । सन्तोषले अजीतलाई विपरित दिशामा डाइभ लगाएर गोल गरेका थिए ।

दोस्रो हाफमा पनि एनआरटीले राम्रो आक्रमण गरिरहेको थियो । तर आर्मीले एनआरटीको डिफेन्सलाई तोड्न सकिरहेको थिएन । ६४औं मिनेटमा एनआरटीले गोल गर्न सफल भयो र खेलमा पुन अग्रता लियो । टोलीलाई २–१ को अग्रता दिलाउन राजेश परियारले गोल गरेका थिए । शुरुदेखि राम्रो खेलिरहेका राजेशले अन्ततः गोल गरे । अन्तिममा रेफ्री पाण्डेले गोलकिपरले ६ सेकेण्डभन्दा बढी समय बल समातिरहेको भन्दै आर्मीलाई फ्रिकिक हान्न दिए । जुन निर्णयले गर्दा एनआरटीले जितिसकेको खेल नै अंक बाड्न विवश भएको थियो ।

योसँगै बराबरी खेलेकोले दुबै टोलीले एन्फाले घोषणा गरेअनुसार १५÷१५ हजार नगद प्राप्त गर्नेछन् । एन्फाले प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र बराबरी भएमा १५÷१५ हजार प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै म्यान अफ द म्याच एनआरटीका गोलकिपर अजीत प्रजापतिलाई १० हजार नगद पुरस्कार प्रदान गरियो । खेलमा बढी व्यस्त अजीत नै भएका थिए ।

६ वर्षपछि ए डिभिजनमा
एनआरटीलाई २०७० को ए डिभिजन लिग नखेलेपछि बी डिभिजनमा घटुवा गरिएको थियो । यो टोलीको ६ वर्षपछिको लिगमा सहभागिता हो । त्यतिबेला लिगमा आर्थिक समस्या भएकोले ए डिभिजन खेलेको थिएन । गत वर्ष बी डिभिजनमा पहिलो हुँदै एनआरटी पुन ए डिभिजनमा फर्केको थियो । गत वर्ष एनआरटीसँगै च्यासल युथ क्लब पनि ए डिभिजनमा बढुवा भएको थियो । त्यो बी डिभिजन लिगमा आरसीटी भने पछि परेको थियो ।

रेफ्रीले गलत निर्णय ग¥यो—प्रशिक्षक मुल्मी
३८औं मिनेटमा पेनाल्टीमा र अन्तिम सेकेण्डमा फ्रिकिकमार्फत् गोल बेहोरेको एनआरटीले पहिलो खेलमा २ अंक गुमायो । २–२ बराबरीमा चित्त बुझाउनु पर्ने मुख्य कारक रेफ्री भएको एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले बताए । उनले भने—पहिलो गोल पेनाल्टीमा र दोस्रो गोल फ्रिकिकमा हामीले खायौ । तर दुबै पटक हामीमाथि अन्याय ग¥यो । रेफ्रीले अनावश्यक निर्णय ग¥यो । पेनाल्टी हुँदै होइन । डिकेशले हातले बल छोएकै थिएन ।

भिज्युलमा पनि यस्तै देखिएको छ । अन्तमा बल बढी होल्ड ग¥यो भनेर रेफ्रीले फ्रिकिक दिइयो । जुन फ्रिकिकले हामीले जितिसकेको खेल नै बराबरी स्विकार्नु प¥यो । हामीले लेखेर दिएको छौ कि रेफ्री कमिटीले सहि गलत निर्णय गर्नु प¥यो भनेर । यदि यसको चित्त बुझ्दो जवाफ नआएमा लिग खेल्नुको के मतलब र । हामीले लिग छाड्न पनि सक्छौ ।

 

प्रतिक्रिया दिनुहोस्