सत्ता र साहित्य



मुक्तिबन्धु
सत्तासीनहरु आफ्नो चर्चा त अतिशय मन पराउँछन्, चर्चाका सन्दर्भमा कसैले आफूमाथि व्यङ्ग्य कसेको भने पटक्कै मन पराउँदैनन् । कति व्यङ्ग्यकारहरु सत्तासीनहरुमाथि व्यङ्ग्य कस्नकै लागि मौका ढुकिबस्छन् । सत्तासीन र व्यङ्ग्यकारहरुबीचको यो सम्बन्ध साँच्चिकै मनोरन्जक छ । यसै त शहरको सुविधामय जीवनमा कति लेखक साहित्यकारलाई विषयको पनि अभाव छ । आम जनतासम्म यिनीहरुको भावसम्वेदना पुग्दैन ।

यस्तो स्थितिमा सत्तासीनहरु यदाकदा युवाकवि मोतीरामकालीन समस्यापूर्तीकै शैलीमा लेखनका विषय प्रदान गर्छन् । अनि लेखनले एउटा प्रवाह भेट्छ । अहिले अरिङ्गालले त्यही प्रवाह प्रस्फुटन पाएको छ । सत्तासीनहरु साहित्यरसिक पनि हुँदा हुन् त अहिले छापाहरुमा उर्लेको अरिङ्गालले व्यङ्गको बाढी देखेर पेट मिचीमिची हाँस्दा हुन् ।

हो, अहिले व्यङ्ग्यकार, हास्यकार, राजनीति विश्लेषक, कवि, चित्रकार सबैले अजङ्को विषय पाए । कति अरिङगाल नचिनेका शहरियाले खोजीखोजी बंशावली पढेर पनि अरिङ्गाल चिने । नसुनेकाले सुने । नदेखेकाले सोधखोज गरेर पनि देखे । देखेभोगेकाले झलक्क सम्झे । फुटबलको गोल सुनेका तर नेपालीमा गोलोको अर्थ बाटुलो मात्र बुझेका कति आधुनिक विद्वान् विदुषीहरुलाई भने यो गोलो शव्दले पनि हम्मे पा¥यो ।

कतिले शव्दकोष नै पल्टाए । अरिङ्गालको गोलो हुन्छ ? के हुन्छ अरिङ्गालको गोलो ? अरिङ्गालले फुटबल खेल्छ ? शहरका कति बालबालिकाले कक्षामा आफ्ना नेपाली गुरुसँग सोधे । विषयको खडेरी रहेको (?!) हाम्रो नवीनतम सङ्घीय लोकतान्त्रिक मुलुकमा राजधानीका कति कलाकार र वुद्धिजीवीहरुले अरिङ्गालजस्तो सर्वाङ्गसुन्दर भव्य र मनोरन्जक (!?) विषय पाए । मिडिया रङ्गियो ।

सत्ताका सम्माननीय आँखाहरुमा यी समाचार र लेखका अक्षरहरु प्रतिकारी अरिङ्गालजस्तै बिम्बित भए । यो वौद्धिकक्षेत्रकै वैभव हो कि मानसिक अकिन्चनता ? यसको निक्र्यौल गर्न वर्तमानलाई फुर्सद छ जस्तो लाग्दैन ।
समयले सामयिक अभिव्यक्ति खोज्छ । सामयिक अभिव्यक्तिलाई सशक्त बनाउन सशक्त शव्दहरु चाहिन्छन् । सशक्त बिम्ब र प्रतीकहरु चाहिन्छन् ।

सरकारको आलोचना हुँदा सत्तासीन राजनीतिक दलका नेता, कार्यकर्ता र समर्थकहरु अरिङ्गाल बनेर विरोधीहरुमाथि खनिनुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति सशक्त ? कति बिम्बात्मक र कति औचित्यपूर्ण ? अनि यो आम जनताको अभिभावकीय आसनसुहाउँदो अभिव्यक्ति पनि हो र ? अनेकौँ प्रश्न उभिन सक्छन् । प्रधानमन्त्रीले पार्टी एकताका सन्दर्भमा दिनुुभएको अर्को अभिव्यक्ति— जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड कति जनमुखी ? कति सान्दर्भिक ? यहँनिर पनि अनेकौँ प्रश्न उभिन सक्छन् ।

कुनै पनि राजनीतिक दल र अरिङ्गालको गोलो समानधर्मी होइनन् । समानधर्मी हुन पनि सक्दैनन् । समानधर्मी हुन खोजे भने जनताले गोलोमा अगुल्टो झोस्नुपर्ने नौबत आउन सक्छ । सङ्घीय लोकतन्त्रका सत्तासीन राजनेताहरु आफ्ना उपनेता र कार्यकर्ताका सन्दर्भमा अरिङ्गाल बाहेक अरु दृष्टान्तमूलक उदाहरण पेस गर्न सक्दैनन् किन ? कार्यकर्ताहरु मौरी बन्नुपर्छ, पार्टी मौरीको घार बन्नुपर्छ भन्न किन सक्दैनन् ? मौरीहरु मह बनाउँछन् । मह मान्छेले खान्छ । तर पनि मौरीले मह बनाउने चलन रोकेका छैनन् ।

महनिर्माण मौरीको संस्कृति हो । झनक्क रिसाउने र लखेट्दै गएर विषाक्त खिल गाड्ने संस्कृति हो अरिङ्गालको । अरिङ्गालले गोलो बनाउँछन् । बच्चा कोरल्छन् । बच्चा पुनः अरिङ्गाल बन्छन् । अरिङ्गालले जनसमाजका लागि उत्पादक अरु के गर्छन् ? राजनीतिक दलहरु अरिङ्गालको गोलो बनिहिँडे भने तिनीहरुकै भविष्य के हुन्छ ? तिनीहरुका कृत्यलाई सङ्घीय लोकतन्त्रले स्वागत अभिवादन गर्छ ?

हुन त मान्छे शून्यमा उभिएर बोल्दैन । मान्छेले बोल्दा आफ्नो जानकारीको हैसियतमा टेकेर बोल्छ । नेपाल पाखापखेरामा बस्ने, खेतीपाती गर्ने किसानहरुको पनि देश हो । किसानहरु जङ्गलमा गाइबाख्रा चराउन जाँदा रुखमा अरिङ्गालको गोलो देख्न सक्छन् । जिज्ञासु किशोर गोठालाहरु अरिङ्गालको गोलोमा ढुङ्गा पनि हान्न सक्छन् । आक्रमणबाट जोगिन्छन् पनि । कति आक्रमणमा परेर मरेका पनि छन् । अरिङ्गाल भेट्न जङ्गलमै पुग्न पनि पर्दैन । घरकै कुँडारमा आँप नासपातीजस्ता स्वादिला फल पाक्दा अरिङ्गालहरु झुम्मिन आइपुग्छन् । शहरमै पनि अरिङ्गालको गोलो भेटिनसक्छ ।

घरमै पनि गोलो लाउनसक्छ अरिङ्गालले । अरिङ्गालको यूनिफर्म हुन्छ । उसका ठोक्रामा बिखालु तीरहरु हुन्छन् । तर पनि अरिङ्गाल सुरक्षाकर्मी हुन सक्दैन । अरिङ्गालले कुनै दलविशेषको क्रियाशील सदस्यता लिएको पनि थाहा छैन । असाधारण शक्तिशाली कीरा पनि होइनन् अरिङ्गाल । यी कीराहरु लोककल्याणकारी छैनन् । सहयोगी छैनन् । जनमुखी छैनन् । यी समाजवादी पनि होइनन् । मुलुकका प्रधानमन्त्रीले यी तत्वहरु नबुझेका होइनन् ।

प्रधानमन्त्रीले आफ्ना नेता कार्यकर्तालाई जनता टोक्न निर्देशन दिएका पनि होइनन् । सरकारका क्रियाकलाप ( अकर्मण्यता ?) को विरोध गर्नेलाई कुराले, कामले, जेले जहाँ जसरी मिल्छ ठोक्न निर्देशन दिएका हुन् । मिलेर ठोक्न निर्देशन दिएका हुन् । अरिङ्गालको गोलो हुन्छ । मान्छेको भीड हुन्छ ।

भीड भड्किएपछि अरिङ्गालको गोलोभन्दा खतरनाक बन्न सक्छ । प्रधानमन्त्रीले पार्टीलाई भीड बनेर आलोचकहरुमाथि जाइलाग्न निर्देशन दिएका हुन् । यहाँनिर प्रश्नहरु उभिन सक्छन् । सभ्य किसिमले प्रतिवाद गर्न मानिसले अरिङ्गालमा बदलिनु पर्छ ? उत्तेजित भीडमा बदलिनु पर्छ ? छलफल र बहसबाट प्रतिवाद गर्न सक्ँिदैन ? प्रधानमन्त्रीलाई अभिव्यक्तिमा भाषाको समस्या परेको हो कि विचारको खडेरी परेको हो खुट्ट्याइनु जरुरी छ ।

हाम्रा प्रधानमन्त्री ओली महोदयले उखान टुक्काको उपयोग नकारात्मक कोणबाट गर्नुभए पनि दुई–चार शब्द किसानको शब्दकोशबाट पनि टपक्क टिपिदिनुभएकोमा उहाँको स्परण शक्तिको प्रशंसा गर्दै धन्यवाद भनिदिँदा नोक्सान छैन ।

जहाँसम्म श्रीखण्डको चन्दन घोट्ने र खुर्पामा बीँड राख्ने कुरा छ त्यो पनि कम विचारणीय छैन । खुर्पा किसानको काम गर्ने साधन हो । खुर्पाले डाँडाभाटा काट्ने, बाँस काट्ने, स्याउला काट्ने अदि काम गर्छ । काममा उपयोग गर्न खुर्पामा बीँड चाहिन्छ । बीँड भएन भने खुर्पा काम लाग्दैन । समात्ने ठाउँ नै नभएपछि कसरी प्रयोग गर्ने ? एक किसानका लागि कोदालो, बन्चरो, हँसिया खुर्पा सवै बीँड राखेर चलाउनु पर्ने औजारहरु हुन् । किसान किसानी गर्छ उसको भगवान् प्रकृति हो । किसान मोदी होइन । किसानले पशुपतिमा गएर ट्रकका ट्रक श्रीखण्ड चढाउने उधारो भाकल गर्दैन । किसानलाई त माटोमा जीवन उमार्ने ध्याउन्न छ । गाइबाख्राको लागि घाँसपातको ध्याउन्न छ ।

परिवारका लागि दाना पानीको ध्याउन्ना छ । चुलो बाल्ने झिँजा दाउराको ध्याउन्ना छ । चन्दन घोट्ने ध्याउन्ना छैन । आवश्यकताका घडीमा बीँड लायक काठ पाउँदा किसानले यो श्रीखण्ड हो, घोटेर चन्दन बनाउनु पर्ला भनेर आफ्नो काम रोक्दैन । खुर्पामा बीँड हाल्छ भने किसानले क्रियायोगको काम गर्छ । जीवनमुखी काम गर्छ । खुर्पाको बीँड राखेबापत किसानलाई मूर्ख भन्न मिल्दैन । नजान्ने भन्न मिल्दैन । यसै त एउटा न एउटा रोगमा ओखतीका रुपमा उपयोग नहुने वनस्पति के छ ? जुनसुकै वनस्पतिको पनि वहुमुखी उपयोगिता छ ।

बाँसमा वंशलोचन बन्छ । बाँसका मुनाहरुबाट तरकारी बन्छ । छिप्पिएका बाँसबाट भाटा बन्छ । फर्निचर बन्छ । घरै पनि बन्छ । बाँसका चोयाबाट चित्रा भकारी, डोका थुन्चे लगायत विभिन्न भाँडा पनि बन्छन् । घरमा, होटलमा उपयोग गरिने झिना मसिना तर अति उपयोगी सामानहरु बन्छन् बाँसबाट । कतिले तुलसीका मठमा बाँसका लिङ्गा ठड्याएर आकाशबत्ती बाल्छन् । कतिले बारिपारि बाँस गाडेर मालालाई खोला तार्छन् । पहाडका कति खोलामा बाँसका पुल बनाइन्छन् । फड्के कनाइन्छन् । अव भन्नुहोस् कुन कामका लागि बाँस काट्दा नजान्ने भइन्छ ?

हो, श्रीखण्डबाट चन्दन बन्छ । सुगन्धित तेल बन्छ । विभिन्न ओषधिमा पनि उपयोग हुन्छ श्रीखण्ड । श्रीखण्डको काठबाट फर्निचर पनि बन्छ । थाम निदाल र दलिन पनि बन्छ श्रीखण्डको काठबाट । महाभारतकालमा कौरव पाण्डवका मात्र होइन कर्णको महलमा पनि श्रीखण्डको काठ प्रयोग भएको वर्णन पाइन्छ । मृतकका चितामा पनि श्रीखण्डको दाउरा प्रयोग भइआएका इतिहास छन् । आज पनि नेपाल भारतका सत्तासीन ठुलाबडाहरु श्रीखण्डको चितामा जल्न मन पराउँछन् । वहुउपयोगमा रहिआएको श्रीखण्डलाई किसानले खुर्पाको बीँड बनाएछ भने किसानलाई नजान्ने भन्न कसरी मिल्छ ।

के किसानले श्रीखण्डलाई पछि चितामा राख्न साँचेर खुर्पामा बीँडै नराख्ने ? मृत्युका निमित्त आफ्नो जीवनको दैनन्दिन कामै रोक्ने ? चन्दन घोट्न सिप चाहिँदैन । खस्रो काठलाई चिल्ल्याएर खुर्पामा बीँड राख्न कलात्मक सिप चाहिन्छ । श्रीखण्ड वहुउपयोगी काठ हो । खुर्पामा श्रीखण्डको बीँड राख्नु मूर्खता होइन ।

उखानटुक्कामैत्री हाम्रा चतुर प्रधानमन्त्रीले यी सवै कुरा जानेर बुझेर आफ्नो भाषणमा अरिङ्गाल र श्रीखण्डको प्रसङ्ग जोड्नुमा सङ्गठन र त्यसको पक्षपोषणको सन्दर्भ रहेको हुनु पर्छ । यसलाई दर्शनतिर बटारेर व्यङ्ग्यवाण बनाउने कौशल देखाउनु जरुरी छैन ।

कुरा कति मात्र हो भने अनुभव तथा ज्ञानको स्रोत त व्यवहार हो । जुन व्यवहारमा परिन्छ त्यसैअनुसार अनुभव सङ्कलित हुन्छ । अभिव्यक्तिमा त्यही अनुभव बोल्छ । गाउँबस्तीका किसानहरु, गोठालाहरु अङ्गिालका कुरा गर्नसक्छन् । उनीहरुले अरिङ्गालको सामना गरेका हुन्छन् । कतिले त अरिङ्गालको गोलो पोलेर त्यसको स्वदिलो चटनीमा ढिँडो चोप्दै खाएको कुरा पनि गर्न सक्छन् । घर कुँडारमा राति मसाल झोसेर अरिङ्गालको गोलो पोल्ने चलन पनि हामी देख्छौँ ।

यसरी अरिङ्गाल किसान जीवनमा विशेष परिचित बिखालु कीरा हो । गोठालो जीवनमा विशेष परिचित कीरा हो । हामी गाउँबस्तीको जीवनमा भिजेका मानिससँग कुरा गर्न पुग्यौँ भने उनीहरुले खेतबारीका कुरा गर्छन्, बनबुट्यानका कुरा गर्छन्, गोठ–गोठालाका कुरा गर्छन्, झुप्रा–छाप्राका कुरा गर्छन्, अरिङ्गालका कुरा गर्छन्, खुर्पा हँसियाका कुरा गर्छन् । तर सिंहदरबार र बालुवाटार दरबारका कुरा गर्दैनन् ।

आफ्नो दैनन्दिन जीवनसँग जे गाँसिएको छ त्यसैको कुरा गर्छन् । हाम्रा प्रधानमन्त्री ओली महोदयले उखान टुक्काको उपयोग नकारात्मक कोणबाट गर्नुभए पनि दुई–चार शब्द किसानको शब्दकोशबाट पनि टपक्क टिपिदिनुभएकोमा उहाँको स्परण शक्तिको प्रशंसा गर्दै धन्यवाद भनिदिँदा नोक्सान छैन ।

मन्त्री, प्रधानमन्त्रीले गाई चराउन सक्दैनन् । हलो जोत्न सक्दैनन् । गाई चराउने र हलो जोत्ने कामबाट फुर्सद नपाएकाहरुले देश चलाउन सक्दैनन् । किसानले जसरी राँटो नरहने गरी खेतबारी जोत्न सक्छन्, फुर्सद हुँदा कुनै कमी–त्रुटि नरहने गरी देश चलाउन पनि सक्छन् । जनताले कदाचित् यस्तो पनि आशा त गरेकै हुन् । सत्ताले साहित्यलाई पनि विषय प्रदान गरेकोमा धन्यवाद !

 

 

प्रतिक्रिया दिनुहोस्