ए डिभिजन लिग आजबाट शुरू, थ्रीस्टारको उपाधि जित्ने लक्ष्य



फिरोज राजोपाध्याय, काठमाडौं,
त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) को खेलसँगै आजदेखि शहीद स्मारक ए डिभिजन लिग प्रतियोगिता शुरू हुँदैछ। करिब ४ वर्षपछि बल्ल तल्ल लिगको साइत जुरेको छ। यसले नेपालमा घरेलु लिगले फेरि पहिले जस्तै गति लिने आशा गर्न सकिन्छ। एन्फाका पूर्व अध्यक्ष गणेश थापाको प्रत्यक्ष वा अप्रत्यक्ष छायाबाट हटेर पहिलो पटक लिग हुन लागेको छ। नयाँ नेतृत्वको एन्फाले रेलिगेसनविनाको लिग सञ्चालन गर्ने पहिलो कदम चालेको छ। यसबाहेक नयाँ नेतृत्वले पहिलो पुरस्कारमा २५ लाख घटाएर ५० लाख नगद बनाएको छ। यस्ता विवादास्पद निर्णय बाबजुद लिगमा सहभागी १४ टोली र खेलाडी भने उत्साहित छन्।

यो लिगलाई थ्रीस्टारको सहभागीले पनि वजन बढाएको छ। थ्रीस्टारले एएफसी एसियन कप खेल्न नपाएपछि करिब १४ महिना फुटबल नै खेलेको थिएन। तर एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठको पहलमा थ्रीस्टारलाई डेढ करोड क्षतिपूर्ति दिने निर्णयसँगै थ्रीस्टारलाई फेरि मैदानमा ल्याएका थिए। अहिले पनि ललितपुरको यो चर्चित क्लबले पुरै रकम पाएको छैन। यसको बाबजुद टोलीले लिग खेल्दै छ। लिगमा उपाधि जित्ने नै लक्ष्य रहेको थ्रीस्टारका कार्यवाहक अध्यक्ष अरूणमान जोशीले बताएका छन्।

जोशीले नेपाल समाचारपत्रलाई बताए– ‘लिगमा हाम्रो उपाधि जित्ने लक्ष्य रहेको छ। रकम पुरै नपाए पनि हामीले नेपाली फुटबल बचाउन र खेलाडी जोगाउन मैदानमा उत्रनुपर्ने भएको हो। यसमा हामीले अडान लिनुभनेको खेलाडी पलायन हुनु हो। त्यसैले गत वर्षदेखि हामीले फुटबल खेल्न थाल्यांै। थ्रीस्टारमा अनिल गुरुङको आगमन भएको छ। मनाङ मस्र्याङदी क्लबबाट थ्रीस्टारमा आएका अनिलले पनि उपाधि दिलाउनु भनिसकेका छन्। यसैले पनि थ्रीस्टारको एट्याकिङ बलियो हुने अनुमान लगाउन सकिन्छ। उनको भूमिका कस्तो हुन्छ भन्दा जोशीले बताए–‘अनिल एक अनुभवी खेलाडी हुन्। उनको एट्याकिङ विधामा दखल छ। यसैले हाम्रो लागि उनलाई टोलीमा राख्न पाउनु सौभाग्य समेत बनेको छ। उनलाई दबाब हुनेछैन। उनले अभ्यासमा पनि राम्रो खेलेका छन्।’

थ्रीस्टारले गत सिजनमा ७ वटा उपाधि जितेको थियो। योभन्दा उत्कृष्ट कमब्याक अरू हुन सक्दैन। यसैले पनि यो लिगको उपाधि दावेदारीमा थ्रीस्टार अग्रपंक्तिमा उभिएको छ। डिफेन्डिङ च्याम्पियन मनाङको गत सिजनमा खासै राम्रो भएको थिएन। अर्को अनिल त्यहाँबाट निस्केपछि मनाङलाई केही नोक्सान हुने पनि संकेत बनेको छ। यसमा अनिल बताउँछन– ‘गत सिजनमा मनाङको लय बिग्रिएको थियो। कयौ प्रतियोगितामा सेमिफाइनल वा फाइनल पुगेर हारेको थियो मनाङले। यसको मतलब यो टोलीमा केही न केही कमजोरी रहेको छ।

रेलिगेसनविना लिगको स्वाद बेस्वाद नै हुने होकि भन्ने आशंका पनि लागेको छ। तर थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने त्यस्तो शंका मात्रै लागेको खेलमा प्रतिस्पर्धा नै हुने विश्वास गरेका छन्। केसीले बताए– ‘लिग भयो त्यही राम्रो शुरूआत हो। रेलिगेसन अहिले नै गराउने हो भने फुटबललाई अझै कठिन हुन्छ। नेपाली फुटबलमा लिग नभएको धेरै वर्ष भयो। जसरी भए पनि लिग त शुरूआत गर्नै पर्यो। यो लिगमा रेलिगेसन नभए पनि पुछारमा रहेकोलाई रकम र अंकको पेनाल्टी दिने नियम छ। अर्को हरेक खेलका विजेतालाई ५० हजार रकम दिइने महत्वपूर्ण निर्णयले पनि खेल प्रतिस्पर्धात्मक नै हुनेछ।’

विक्रम बैंककमा

थ्रीस्टारका कप्तान विक्रम लामा रिहाबका लागि बैंकक गएका छन्। फागुनमा सम्पन्न बुढासुब्बा गोल्डकपअन्तर्गत एक खेलमा उनको खुट्टा भाँचिएको थियो। उनको उपचार भएर खेल्न पनि थालिसकेका छन्। तर उनलाई कतिको खेल्नुहुन्छ वा हुँुदैन भन्ने तय गर्न बैंककमा पठाइएको हो। क्लबका अध्यक्ष जोशीले यसबारे जानकारी गराए– ‘उनको खुट्टा शल्यक्रिया पछि ठीक छ। तापनि उनलाई ग्राउन्ड रिहाब गराउन उता पठाइएको हो। फर्केपछि उनले खेल्नेछन्।’

प्रतिक्रिया दिनुहोस्