१५औं धर्मश्री आगामी साता



नेपाल समाचारपत्र
काठमाडौं
नेपालकै पहिलो शारीरिक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा सम्मानित प्रतियोगिता ‘धर्मश्री’ आगामी साता हुने भएको छ।

सर्वाधिक पुरस्कार राशीको १५औं धर्मश्री प्रतियोगिता असोज १९ र २० गते हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराए। राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्रप्रति अमूल्य जीवनको आहुती दिनुहुने अमर शहीद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालबाट सो प्रतियोगिता शुरू गरिएको हो।

राष्ट्रब्यापी खुल्ला प्रतियोगिताका रूपमा रहेको प्रतियोगितामा करिब ४ सय खेलाडीहरूले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरूले ओभरअल राउन्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गराइनेछ।

१५ हजार पुरस्कार राशीबाट शुरू गरिएको धर्मश्री प्रतियोगिता १५औं संस्करणसम्म आइपुग्दा शारीरिक सुगठनमा सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता भएको छ। धर्मश्री बिजेतालाई नगद ५ लाखसहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिनेछ।

यस्तै प्रतियोगितामा दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख नगद हात पार्नेछन्। चौथोदेखि सातौं स्थान हासिल गर्नेले क्रमशः ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार नगद प्राप्त गर्नेछन्। यस्तै तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको हौशला अभिवृद्धि गर्न भारतका चर्चित दुई पटकका मि. वल्र्ड, मि. युनिभर्स तथा मि. इन्डिया संग्राम चौगुले पनि नेपाल आउने भएका छन्। कुल ४० लाखको बजेट रहेको प्रतियोगिताको अघिल्लो संस्करणको धर्मश्री पर्शाका अर्जून बर्णवाल रहेका थिए।

प्रायोजकको अभाव

नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले धर्मश्री राष्ट्रब्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको १५ औँ संस्करणसम्म आइपुग्दा धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडीहरू जन्माइसकेको बताए। उनले भने– ‘हामीले यो प्रतियोगिता शुरू गरेको तीन दशक नाघिसक्यो, तर प्रतियोगिता भर्खर १५औँ संस्करणसम्म मात्र आइपुगेको छ, वर्षको आधारमा यो प्रतियोगिताको संस्करण धेरै हुनु पर्ने हो, तर हामीसँग प्रायोजक नै छैन, एउटा संस्करण आयोजना गर्ने प्रायोजक अर्को हराउँछ। नियमित रूपमा हामीले प्रायोजकको साथ पाएको छैन, म दुःखका साथ भन्छु, हामीले धेरै कष्ट सहेर खेलाडीहरू जन्माइरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्