कालीगण्डकीमा ‘नेपाली पानी जहाज’ अझै शुरू भएन



दुर्गाप्रसाद शर्मा, पर्वत
कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षा याम सकिएपछि पनि सुचारु हुन सकेको छैन। असोजको दोस्रो सातासम्म पनि नदीमा पानी बहाव नघटेपछि नेपाली पानी जहाजसमेत भनेर चिनिने स्टिमर सेवा शुरु हुन नसकेको हो।
वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खताराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध छ।

कालीगण्डकी ‘ए’ जलविद्युत् गृह मर्मतका लागि एक सातादेखि बाँधका ढोका खोलिएका छन् भने बहावसमेत घटेको छैन। विद्युत् गृहको मर्मत सक्ने र बहाव घटेपछि मात्रै बन्द स्टिमर सेवा सुचारु हुने सेतीबेणीका व्यवसायी रवि भट्टराईले बताउनुभयो।

‘बाँधको ढोका बन्द नहुँदा र बहाव नघट्दासम्म स्टिमर सुचारु हुन सक्दैन’ उहाँले भन्नुभयो– ‘असोजको २० भन्दा अघि सुचारु हुने सम्भावना देखिँदैन’ जलाशयमा दैनिक रूपमा सञ्चालित ११ वटा स्टिमर अहिले ठप्प बनेका छन्। पछिल्लो समय स्थानीय बोटे समुदायलाई आयआर्जनका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले पनि दुईवटा स्टिमर उपलब्ध गराएको छ। स्टिमरमा २५ जनाले प्रत्यक्ष रूपमा र दर्जनौ व्यक्तिले अप्रत्यक्ष रूपमा रोजगारीको अवसर समेत पाएका छन्।

जल यातायात सेवा अवरुद्ध हुँदा पर्वत र स्याङ्जा जिल्लाका ग्रामीण क्षेत्रका बासिदा यातायातको सुविधाबाट बञ्चित बनेका छन्। गुल्मी क्षेत्रमा भने कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि स्टिमरको भर पर्नुपर्ने अवस्था टरेको छ। विगत १८ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि त्यस क्षेत्रका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। स्टिमर सेवा वर्षातको समयमा भने ३ महिना अवरुद्ध हुने गरेको छ।

दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित वडा नं. ६ साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती झण्डै डेढ दर्जन साविकका गाविसबासी त्यस्तै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाउँका बासिन्दालाई सहज रूपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका थिए।

यातायात अवरुद्ध हुँदा दैनिक आधाघण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा हिडेर स्याङ्जाको मिर्मिसम्म पुग्न बाध्य भएका छन्। कतिपय व्यवसायीले वालिङबाट हुवास हुँदै सामान ल्याउने गरेका छन भने गुल्मीको अर्बेनीसम्म कालीगण्डकी करिडोरमा सवारीका साधन चल्ने भएकाले त्यहाँबाट भरियालाई बोकाएर पनि सामान ल्याउन थालेका छन्। हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यावसायी भरिया र खच्चडबाट समेत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य बनेको गुनासो गरेका छन्। एक मात्र भरपर्दो यातयात सेवाको रूपमा सञ्चालित स्टिमरले उक्त क्षेत्रका बासिन्दको आर्थिक अवस्थामा समेत सुधार भएको छ।

वर्षायाममा असारदेखि असोज महिनासम्म पानीको बहाव बढी हुने भएकाले बन्द गरिने भए पनि ९ महिना निरन्तर रूपमा सञ्चालन गरिँदै आएको छ।वर्षायाममा भन्दा हिउँदको समयमा यात्रुको चाप बढी हुने गरेको छ। एउटा स्टिमरमा एक सयदेखि १ सय ५० जनासम्म यात्रु एकैपटक ओहोरदोहोर गर्न मिल्छ। सेतीबेणीबाट जलयात्रा शुरु गरी मिर्मीमा पुगेर बसमार्फत यस क्षेत्रका बासिन्दा गन्तब्यमा पुग्दै आएका छन्। स्टिमरबाट यात्रा गर्नेमा बढीजसो आन्तरिक पर्यटकनै रहेका छन्। र्याफ्टिङजस्तै भएकाले बाह्य पर्यटकसमेत आउने गरेको वडा अध्यक्ष थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्