युरोपका कार्यक्रमबाट घर बनाइदिँदै मिलन



लोकप्रिय लोकगायक मिलन लामाले करिब ३ महिना लामो युरोप म्युजिक टुर पूरा गरेका छन्। यस क्रममा उनले युरोपका २० स्टेजमा आफ्नो प्रस्तुति दिएका छन्। ‘कतिपय एउटै देशका विभिन्न ठाउँमा ३ कार्यक्रमसम्म भए, जम्मा २० ठाउँका कार्यक्रममा सहभागी हुँदै गर्दा नेपाली गीतसंगीतको माया परदेशमा रहेका नेपालीले बुझेको पाएँ’ –मिलनले भने। मिलनले पहिलो कार्यक्रम डेनमार्कमा गरेका थिए भने बीसौंमध्येको अन्तिम कार्यक्रम जर्मनीमा सकेर फर्किएको बताए।

विशेषगरी नेपाली पर्यटनमा जोड दिने गायकका रूपमा चिनिँदै आएका मिलन विदेशका कार्यक्रममा नेपाली पर्यटन प्रबद्र्धनमा निकै चासो दिने गर्दछन्। उनले हरेकजसो स्टेजमा चढ्दै गर्दा नेपालका पर्यटकीय क्षेत्रको बारेमा बताएका हुन्छन्। ‘मैले सयौं गीत गाएँ, तर नेपालको परिवेश र भूभागसँग जोडिएका गीत गाउँदा छुट्टै अनुभूति हुन्छ, त्यसैले मेरा धेरै गीत पयर्टनसँग पनि जोडिएका छन्’ –उनी भन्छन्।

२०७२ सालमा गएको महाभूकम्पपछि विपन्न परिवारका लागि मिलन होम योजनाअन्तर्गत उनले अहिलेसम्म ७ घर निर्माण गरेका छन्। आफ्नै पहलमा विभिन्न सहयोग र सांगीतिक कार्यक्रमबाट उठेको रकमबाट उनले विपन्न परिवारलाई घर निर्माण गर्दै आएका छन्। यसपालिको युरोप भ्रमणबाट पनि एक घर निर्माण गर्ने योजना बनाएको मिलनले बताए।

प्रतिक्रिया दिनुहोस्