ट्रक ड्राइभरदेखि जय भोलेसम्म



रश्मी थापा,
रंगकर्मी, अभिनेता, निर्माता, निर्देशक, वितरक तथा प्रदर्शक, ३ दशक लामो कलायात्रामा एउटै व्यक्तिले बनाएको थरीथरीको परिचय हो यो। यो परिचय हो अशोक शर्माको।

शर्मा १३ वर्षपछिको कमब्याकस्वरूप आफूले निर्माण र निर्देशन गरेको फिल्म जय भोलेलाई लिएर उत्साहित छन्। भोलेभक्त शर्माको जय भोले फूलपातीको दिन असोज ३० गते रिलिज हुँदै छ। ‘अभिनय मेरो प्यासन हो। तर त्यो प्यासनले जीविका चलाउन सकिएन। त्यसैले मैले आर्थिकरूपमा समेत दरिलो हुन फिल्म निर्माण गर्न थालें। ट्रक ड्राइभरबाट फिल्म बनाउन थालेको थिएँ। बीचमा केही समय नेपाली फिल्म क्षेत्रकै लागि डिजिटल टेक्नोलोजीको विकासमा लागें। अबचाहिँ फिल्म निर्माणलाई नै निरन्तरता दिन्छु। त्यसैको पछिल्लो शुरुआत हो जय भोले’, शर्माले सुनाए– ‘जय भोलेको स्क्रिप्ट खगेन्द्र लामिछाने भाइ र म बसेर १३ महिना लगाएर तयार पारेका हौं। अहिलेको जेनरेसनको सोच नयाँ किसिमको छ।

उनीहरूको सोचलाई म जहिले पनि नजिकबाट नियाल्थें। त्यसैले मैले वसुन्धरा भुसाल र लक्ष्मी गिरी दिदीहरू, रामचन्द्र अधिकारी, राजाराम पौडेलको पुस्तासँगै खगेन्द्र लामिछाने, बुद्धि तामाङ, सौगात मल्लको पुस्ता र अहिलेका स्वस्तिमा खड्का, सलोन बस्नेतको पुस्तालाई समेटेर जय भोले बनाएँ। यी तीनै पुस्तालाई समायोजन गर्न त सजिलो काम थिएन। तर गहिरो मेहनतपछि आज फिल्म तयार छ। यसपालिको दशैं जय भोलेसँगै मनाउन सम्भव भएको छ।’

अशोकले अगाडि भने– ‘जय भोलेको टिजर, गीत, ट्रेलर तथा पोस्टरले एकदमै राम्रो रेस्पोन्स पाएको छ। ट्रेलर आएपछि त माहोल नै परिवर्तन भएको छ। यसले गर्दा मलाई अहिले नै एक किसिमको आनन्दको अनुभव भइरहेको छ। मलाई डर थियो अशोक शर्माले उही पुरानो किसिमको फिल्म बनायो कि भन्ने सोच्नुहोला भनेर। तर फिल्म आधुनिक जमानाको प्रविधि प्रयोग गरेर सशक्तरूपमा अगाडि आउनेछ।’

अहिलेका सफल फिल्मकर्मीका रूपमा कहलिएका अशोक शर्मा कस्ता कलाकर्मी हुन्? कस्तो छ उनको संघर्ष र सफलताका विषहरू? नयाँ पुस्तालाई जिज्ञाशा हुन सक्छ। स्कुल पढ्दा झापाका हलहरूमा हिन्दी फिल्म हेरेर अभिनयप्रति आकर्षित भएका अशोकले झापाको भद्रपुर हाई स्कुलमा कक्षा आठमा पढ्दा पहिलोपटक २०३३ सालतिर रोटी नामक नाटकमा अभिनय गरेका थिए। त्यति बेला कला देखाउने अन्य अवसरको अभाव भएकाले विवाह तथा भोज भतेरमा नाचेरै आफ्नो कला प्रदर्शन गर्ने अशोकले एसएलसीपछि थप पढाइका लागि भारतको दार्जिलिङ गएका बेला धेरै नाटकमा अभिनय गर्ने अवसर पाए।

२०३९ सालमा काठमाडांै आएका अशोकले आफ्नो करिअरको दौरान निकै संघर्ष गरे। ‘काठमाडौं आएर केही वर्ष त म डेराविहीन नै बसें। कहिले कता बसिन्थ्यो, कहिले कता? पछि भोटेबहालमा कलाकार दीपक क्षेत्री, म र मेकअपम्यान साम्भा डी पाटिल मिलेर कोठा लियौं।

नाटकहरू खेल्दा वाहवाही हुन्थ्यो। तर पैसा कमाइ हुँदैनथ्यो। सुट पाइन्ट लगाई सेठजीको क्यारेक्टर गरेर राष्ट्रिय सभागृहबाट निस्कन्थें। नाटक सकिएपछि सुट फुकालेर राती १० बजेतिर फर्कियो, खल्तीमा खाजा र खाना खाने पैसा हुँदैनथ्यो। टुकुचामा इन्द्र दाइको होटलको सटर ढकढक्याउन पुग्थ्यौं।

म नाटकहरू खेल्ने गर्थें, वाहवाही हुन्थ्यो। तर पैसा कमाइ हुँदैनथ्यो। सुट पाइन्ट लगाई एकदमै धनी सेठजीको क्यारेक्टर गरेर राष्ट्रिय सभागृहबाट निस्कन्थें। नाटक सकिएपछि सुट फुकालेर रातीको १० बजेतिर फर्कियो, खल्तीमा खाजा र खाना खाने पैसा हुँदैन थियो। टुकुचामा इन्द्र भन्ने एकजना दाइको होटल थियो। बन्द सटर ढकढक गथ्र्यौं, दाइ कलाप्रेमी भएकाले सटर खोलेर बाँकी भएको तरकारी चिउरा खान दिनुहुन्थ्यो। तर कहिल्यै पैसा माग्नुहुन्थेन। हामी पैसा भएको बेला दिथ्यौं, नभएको बेला मतलब नै हुँदैनथ्यौं’, करिअरको शुरुआतका दिन सम्झिएर भावुक हुँदै उनले सुनाए– ‘त्यस्तै पुतलीसडकमा सम्झना भोजनालय थियो। त्यहाँ मैले धेरै वर्ष खाना खाएँ। तर उहाँले कहिल्यै पैसा माग्नुभएन। कहिलेकाहीं ३÷४ महिनासम्म पनि खानाको पैसा दिन सकिँदैनथ्यो। उहाँलाई अभैm पनि पैसा तिर्न बाँकी छ। पछि भेटेर पैसा तिर्न खोज्दा उहाँले लिन मान्नुभएन। उहाँलाई अहिले पनि म खोजिरहेको छु। यस्ता व्यक्तिहरू भेट भयो भने अँगालो हालेर १÷२ घण्टा रोऊँजस्तो लाग्छ।’

२०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपश्चात् टेलिफिल्ममा अभिनय गर्न थालेका शर्मा चक्रब्युह नामक टेलिसिरियलबाट रातारात हिट भए। त्यो सिरियलमा दीपक थापा नामको खलपात्रका रूपमा देखिएपछि सारा दर्शकले उनलाई चिन्न थाले। बाटोमा हिँड्न पनि गाह्रो हुन थाल्यो।

बच्चाहरू उनलाई देखेपछि डराएर भाग्ने गर्थे भने ठूला मानिसहरू पनि ऊ दीपक थापा आयो भनेर तर्किहाल्थे। उनको पात्रको रूपलाई लिएर राष्ट्रिय पञ्चायतमा बहस नै भयो भने विजयकुमार पाण्डेको ८ बजे कार्यक्रममा पनि थुप्रै चर्चा भयो। ‘दीपक थापा भनेको दीपक बोहरा र कमल थापाको मिक्स क्यारेक्टर हो भन्ने कुरासमेत आयो। तर त्यस्तो थिएन।’ –उनी सम्झन्छन्। टाढाको बस्ती उनलाई दर्शकमाझ चम्किलो बनाउने अर्को सिरियल थियो। जसमा उनी जुठे नामक खलभूमिकामा थिए।

‘मलाई करिअरको दौरानमा कृष्ण मल्लले ती सिरियलमा अवसर दिनुभएको थियो। सिरियलबाट चर्चा त पाइयो तर हातमुख जोड्ने समस्यम त ज्यूँको त्यूँ नै थियो। सिरियल हेरेर दर्शकले चिन्ने भएका कारण बाटोमा हिँड्नसमेत मुस्किल पथ्र्यो। तर आफूसँग चढ्नका लागि साइकलसमेत थिएन। लुखुरलुखुर हिँडेरै आवतजावत गर्नुपथ्र्यो। किनभने त्यतिखेर सिरियल निर्मातालाई नेपाल टेलिभिजनले नै थोरै पैसा दिन्थ्यो। त्यतिबेला पारिश्रमिक दिने भनेको एकदमै कम थियो। मैले धेरै टेलिफिल्म खेलें तर मलाई पारिश्रमिक दिने मान्छे भनेको कृष्ण मल्ल र रुद्रराज पाण्डे मात्रै थिए। ती टेलिफिल्म र सिरियलमा खेलेका क्यारेक्टरले मलाई मानिससँगको एक्सेस सजिलो बनायो। मलाई आर्थिकरूपमा पनि बलियो हुनुपर्ने थियो’, शर्मा सुनाउँदै थिए– ‘फिल्म बनाएर चल्यो भनेचाहिँ आर्थिकरूपमा पनि बलियो हुन्छु भन्ने लागेर फिल्म निर्माणमा लागें।’

२०५० सालमा प्रदर्शन भएको अशोकको पहिलो फिल्म ट्रक ड्राइभर निकै चल्यो। फिल्मका यी ड्राइभरलाई ट्रक ड्राइभरले वास्तवमै आर्थिकरूपमा पनि दरिलो बनायो। फिल्म मारामार चल्यो। सय दिन नै मनायो। ‘राजकुमार शर्मालाई निर्देशक लिएर ट्रक ड्राइभर निर्माण गर्दा मसँग पैसा थिएन। खालि आँट र हिम्मत थियो। मैले भैरहवाका राजनीतिज्ञ साथी वीरेन्द्र क्षेत्रीलाई चर्चा कमाए पनि पैसा नभएको र फिल्म बनाउन चाहेको बताएँ। उहाँले पटकपटक गरेर ५ लाखसम्म दिन सक्ने भन्दै शुरूमा २ लाख रुपियाँ दिनुभयो। त्यही २ लाख लिएर स्क्रिप्ट फाइनल गरी गीत रेकर्डिङका लागि मुम्बई गएँ।

गीत रेकर्डिङमा डेढ लाख रुपियाँ सकियो। कोरियोग्राफर संगीतकार, शिव श्रेष्ठ, करिश्मा मानन्धर, विजय, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यजस्ता सबै कलाकारलाई फिल्म रिलिजपछि मात्र पैसा दिन्छु भनें’, अशोकले सम्झिए– ‘उहाँहरूले यो मान्छेले बेइमान गर्दैन भनेर मलाई विश्वास गर्नुभयो। साथीले दिन्छु भनेको बाँकी ३ लाख लिएर शुटिङ शुरू गरें। त्यतिबेला फिल्म सकिएपछि मात्र डिस्ट्रिब्युटरले पैसा दिने चलन थियो। तर डिस्ट्रिब्युटर साथी लीला शाक्यले मलाई फिल्म शुटिङ शुरू हुँदै पटकपटक गरी १२ लाख रुपियाँ दिनुभयो र त्यसैबाट फिल्म शुटिङ सकाएँ। फिल्म फ्लप भयो र पैसा तिर्न सकिनँ भने विदेशमा गएर भरिया बनेर पनि पैसा तिर्छु भनेर त्यो पैसा लिएको थिएँ। ल्याबले पनि फिल्म रिलिजपछि मात्र पैसा तिर्छु भन्दा मलाई त्यो सुविधा दियो।’

संघर्ष र जोखिमको यो कथा लामै थियो। शर्माले अगाडि सुनाए– ‘फिल्म शुटिङ सकिएपछि हलमा फिल्म लगाउन अर्को महाभारत थियो। त्यतिबेला हलहरूले नेपाली फिल्मलाई शो दिन मान्दैनथे। शाही नेपाल चलचित्र संस्थानले बनाएका फिल्महरू मात्र हलमा चल्थे। तर मलाई जसरी पनि फिलम चलाउनु थियो किनभने मैले कलाकार र प्राविधिकलाई क्रेडिटमा काम लगाएको थिएँ। मलाई उनीहरूको पैसा तिर्नु थियो। क्रेडिटमा फिल्म बनाएर एउटा रिस्क लिइसकेको थिएँ भने हल नपाएका कारण हाइभिजन भिडियो हलहरूमै फिल्म चलाएर अर्को रिस्क लिन तयार भएँ। नीर शाह, शम्भुजित बाँस्कोटा, वसन्त श्रेष्ठलगायतका दाइहरूले हाइभिजनमा फिल्म चल्दैन भनेर नचलाउन सल्लाह दिए। तर विकल्प थिएन। फिल्म हाइभिजनमै चलाएँ। फिल्मले यति राम्रो व्यापार गर्यो कि त्यसपछि ठूला हलहरूले पनि माग्न थाले। त्यो फिल्मका सम्पूर्ण प्राविधिक तथा कलाकारको पैसा तिरेर अर्को फिल्म बनाउने पैसा पनि भयो। त्यसपछि सीता, गरीब, निरमायाजस्ता फिल्मबाट भने फाइदा भएन, फेरि आर्थिक अभाव हुन थाल्यो। त्यतिबेला छोराछोरी पनि भइसकेकाले गाह्रो अवस्था थियो। अर्को फिल्म अल्लारे बनाएँ। फिल्मले सय दिन मनाउन सफल भयो भने त्यही फिल्मबाट नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पुग्यो’, जोखिमपछिको सफलता सुनाउँदै गर्दा उनले भने– ‘अल्लारे लिएर म अमेरिका, यूके, हङकङलगायत विभिन्न देश पुगें। त्यही फिल्मबाट मैले घर, गाडी जोडें।’

हालसम्म ११ फिल्म बनाएका अशोकले सीता, गरीब, निरमाया, अल्लारे, मिस्टर रामकृष्णे, यो मायाको सागरसँगै ८ फिल्म आफैले निर्देशन गरेका छन्। करीब १२ वर्षसम्म फिल्म निर्माण र निर्देशनबाट टाढा रहे पनि अशोक नेपाली फिल्म क्षेत्रमा डिजिटल प्रविधि भित्त्याउनतिर लागिपरेका थिए। ‘त्यतिबेला डिजिटल प्रविधि भित्त्याउन निकै चुनौतीसँग जुध्नुपर्यो। हामी १६ एमएममा सिनेमा बनाएर ३५ एमएममा ब्लोअप गथ्र्यौं। त्यसले गर्दा हाम्रा फिल्महरू फुङ्ग रङ उडेको कपडाजस्तो देखिन्थ्यो। तर त्यही हलमा हिन्दी फिल्महरू भयंकर देखिन्थ्यो। हिन्दी फिल्मकै प्रविधि प्रयोग गरेर फिल्म बनाउँदा यहाँको बजेटले भ्याउँदैनथ्यो। त्यसकारण अरू प्रविधि सोच्नुपर्छ भनेर साथीहरू नकिम उद्यीन, भाष्कर ढुंगानाहरूसँग मिलेर डिजिटल प्रविधि ल्यायौं। तर त्यतिबेला मानिसलाई कुरा बुझाउनै गाह्रो थियो।

खाई नखाई नेपाली फिल्म तथा नाटकका लागि मरिमेटेर लड्ने मलाई अशोक शर्मा विदेशी फिल्मको मान्छेसँग मिल्यो, अशोक शर्मा दलाल हो पनि भने, अझ हिन्दी फिल्मको प्रभुत्व हुने भयो भनेर विरोध भयो। तर यसले पछि गएर नेपाली फिल्मलाई नै फाइदा गर्छ भन्ने कन्फिडेन्स हामीलाई थियो। नेपाली फिल्म डिजिटलमा आउन समय लाग्ने र शुरूमा हिन्दी फिल्म चल्ने भए पनि पछि नेपाली फिल्मलाई नै फाइदा हुन्छ भन्ने सोचर नै मैले उहाँहरूसँग सहकार्य गरेको थिएँ’, अशोकले भने– ‘आज खुसी लाग्छ कि पहिले फिल्मले ६०÷७० लाख कमाउँदा भयंकर व्यापार भयो भनेर खुसी हुने हामीहरू अहिले फिल्मले २० करोडको व्यापार गरेको देख्छौं, त्यो त्यही डिजिटल प्रविधिको कारणले सम्भव भएको हो।

आज साँच्नै नै डिजिटल प्रविधिका कारण नेपाली फिल्मको व्यापार फस्टाएको छ। २ सातामै यसले १५÷१६ करोडको व्यापार गर्न सक्ने भएको छ। पहिलेजस्तो वर्षौं कुर्न पर्ने अवस्थाको अन्त्य भएको छ। त्यतिबेला हिट भएको फिल्म पनि नेपालभरि चल्न दुई÷अढाइ वर्ष लाग्थ्यो अब त एउटा फिल्म सय÷दुई सय हलमा एकैचोटी लाग्छ। चुनौती मोलेर डिजिटल प्रविधि स्थापित गर्नतिर लागें। यही क्रममा म फिल्म निर्माण र निर्देशनबाट टाढा रहें। तर फेरि फर्केको छु किनभने मेरो रगतमा त फिल्म नै छ। कलाकारका रूपमा स्थापित भइसकेको मान्छे अभिनयसँगको ग्याप पीडादायी हुन्छ। तर फिल्म उद्योगका लागि त राम्रो काम गरें। साथै अन्तर आत्मादेखि आफ्नो प्रतिभालाई मारें भन्ने कुराले नरमाइलो पनि लाग्छ।’

हालसम्म ३० भन्दा धेरै नाटक, ३ दर्जनभन्दा बढी टेलिफिल्म र सिरियल तथा सयभन्दा धेरै फिल्म खेलिसकेका उनले परिवार र नातामा नायकका रूपमा अभिनय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्