कुपात्रको एक रुप



पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने खालका मस्तिष्क बोकेर हिँडेका मान्छे हो हरिओम । ऊ बाबु भन्दैन, आमालाई गन्दैन, नाताकुटुम्बहरूलाई टेरपुच्छर लगाउँदैन । पैसा नै उसका लागि सबै थोक हो । ऊ ढाँट्न सिपालु, आफ्नै मनलाई समेत ढाँट्छ ऊ । स्वास्नीलाई त मिनेट–मिनेटमा ढाँटिरहन्छ । स्वास्नीको आँखा र मनमा त प्रख्यात ढँटुवा पो हो ऊ अर्थात् हरिओम ।

एकदिन हरिओमलाई सास फेर्न निकै गाह्रो भएछ । आफूसँगै सुतिरहेकी स्वास्नीलाई घचघच्याएर भनेछ– ‘मलाई सास फेर्न निकै गाह्रो भयो, कस्तो भएको ? साह्रै गाह्रो भयो मलाई ?’ फटाहा लोग्नेको कुरा नसुनेजस्तो गर्दै सुतिरहेकी उमाले ठूलो–ठूलो स्वरले चिच्याएको लोग्नेको आवाजलाई प्रतिवाद गर्दै भनी– ‘तपाईंको कुरा कसरी पत्याउने ? खुरुक्क सुत्नुस्, बेकारका ढाँट कुरा नसुनाउनू ।’

उलाई उल्टोतिर पल्टाएर उमाले वास्तै नगरी आफ्नै धुनमा सुतिरही । हरिओम ढुँटुवामा नामी व्यक्ति भएकोले साँचो बोल्दा मृत्युवरण गर्न पुग्यो । भोलिपल्ट उमा उठेर हरिओमलाई उठाउन खोज्दा ऊ उठेन । सधैँका लागि आँखा चिम्म पारेर सुतिरहेझैँ हरिओम सुतिरह्यो । ढँटुवाहरू के यसरी नै मर्छन् ? उमा लोग्नेको लास हेर्दै र मृत्युमा आँसु चुहाउँदै मनमा प्रश्न गरिरहन्छे ।
प्रस्तुति ः मोहन दुवाल

 

प्रतिक्रिया दिनुहोस्