पतञ्जलि–३ : मानिसमा रोगको शुरुवात



आर्यावर्त हिमवत् देश परापूर्वकालदेखि नै ऋषि–महर्षिहरुको तपोभूमि हो । शीतल र स्वच्छ हावापानीको शान्त एकान्त थलो हुनाले सबै ऋषि–महर्षिहरु यहीँ आएर यहाँका वन–जङ्गल, गुफा–कन्दरा र शिखरहरुमा वसी तपोमय जीवन बिताउँथे । त्यहाँ जम्मा भएर यिनीहरुले विभिन्न शास्त्रचर्चा, सभा, गोष्ठी र यज्ञका आयोजना गर्दथे ।

हिउँदमा धेरै जाडो भएका बेला यदाकदा यिनीहरु नैमिषारण्यजस्ता समथर भूमिमा पनि ओर्लन्थे । त्यहाँ आर्यावर्त र जम्बूद्वीपका विभिन्न ठाउँबाट आएका ऋषिमुनिहरुको संख्या ८८ हजारसम्म पुग्ने गर्दथ्यो । तीमध्ये केही ऋषिहरु ऊध्र्वरेता, अखण्ड ब्रह्मचर्यपालक मन्त्रद्रष्टा हुन्थे भने केही सन्तानोत्पादक । केही गोत्रकार तथा गोत्रज ऋषि हुन्थे भने केही गोत्रावयव । ऋषिमुनिहरुको यो समूह माघको कुम्भपर्वका बेला प्रयागको त्रिवेणीतटमा पनि स्नान, ध्यान र यज्ञयागादिका लागि जम्मा हुन्थ्यो ।

पहिले पहिले जनसंख्या थोरै थियो । प्रदूषण कम हुन्थ्यो । ऋषिमुनि तपस्वीहरु वनजङ्गलमा निवास गर्दथे । मानिसको जीवन प्राकृतिक थियो । तिनीहरु प्रकृतिपूजक थिए र प्रकृतिसँगै तादात्म्य राख्दथे । आँप, अम्बा, काफल, केरा आदि फलफूल तथा गिठ्ठा, तरुल, शकरकन्दजस्ता कन्दमूल र गाईको दूध, दही, मही, घिउ आदिबाट गुजारा चल्दथ्यो । आध्यात्मिक र सात्विक जीवन बिताउँथे मानिसहरु । प्रकृति शान्त थिइन्, जीवन शान्त थियो । नित्य यज्ञ हुने गर्दथ्यो । अग्निपूजक यहाँका आदिवासी आर्यहरुको यो हिमवत् देश हवनका चरु घिउ आदिले सदैव स्निग्ध र सुगन्धित थियो । समस्त नदीनाला, छहरा–पहरा, धर्ती–आकाश, लता–वनस्पति सबै शान्त र सुन्दर थिए ।

मनुष्यलोकको जनसंख्या वृद्धि हुँदै गयो । पहिले–पहिले वन–जङ्गल र गुफा–कन्दरामा बस्ने मानिस त्यहाँबाट निस्केर कटेरा छाएर बस्तीमा बस्न थाले । बस्ती गाउँमा, गाउँ शहरमा, शहर उपनगर र उपनगर महानगरमा अनि त्यहाँबाट पनि राजाश्रित हुन राजधानीमा बसाइँ सर्न थाले ।

मनुष्यका आवश्यकताहरुमा वृद्धि हुँदै गयो । उनका आवश्यकता वृद्धिले भौतिक आविष्कारमा पनि वृद्धि हुन थाल्यो । मानवजीवन क्रमशः भौतिक र विलासी हुन थाल्यो । भौतिक आवश्यकता र उत्पादनका पछि लाग्दा उसको मन, वाणी र शरीर पनि मलीन हुनथाल्यो । चिन्तारुपी मलले मनलाई, अशुद्ध र असत्यरुपी मलले वाणीलाई तथा खाद्यजन्य मलले मनुष्यको शरीरलाई मलीन तथा रोगी बनाउन थाल्यो ।

सर्दी र गर्मीजन्य नयाँ–नयाँ रोग–व्याधिले ग्रस्त भयो जनजीवन । खान, पान, शयन, ब्रह्मचर्य, यम–नियमादिको अव्यवस्थित स्थितिले गर्दा मानवजातिको आरोग्य क्षीण हुन थाल्यो । यति मात्र होइन, मानवजातिका तप, उपवास, अध्ययन तथा ब्रह्मचर्य व्रतमा पनि यस रोगले विघ्न उत्पन्न गर्न थाल्यो । धर्म, अर्थ, काम र मोक्षजस्ता पुरुषार्थ गर्नका लागि मनुुष्य योनिमा जन्म लिएका मानिस र अन्य प्राणीहरुसमेत विभिन्न रोगले ग्रस्त भएर असमयमै र अल्पायुमै मर्न थाले ।

प्रतिक्रिया दिनुहोस्