२ लाख ९६ हजार घरको पुनर्निर्माण सम्पन्न, १ खर्ब ४८ अर्ब निजी आवास अनुदान वितरण



नेपाल समाचारपत्र, काठमाडौं ।
भूकम्पपछि पुनर्निर्माण कार्य सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् ।

कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ । साथै, दसैंतिहारपछि पुनर्निर्माण भइरहेका घरहरुको निर्माण सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इन्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरुको पुनर्निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो ।

‘अभियानका रुपमा निजी आवास पुनर्निर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ’, उहाँले भन्नुभयो ।

भूकम्पबाट घर क्षति भएकामध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।

गुनसो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ ।

जिल्लागत रुपमा पुननिर्माण सम्पन्न भएका घरको संख्याः

सिन्धुपाल्चोक – ४९,५४०
दोलखा – ४४,४६१
गोरखा – ३६,४९०
धादिङ – ३५,६६१
नुवाकोट – २८,१५०
रामेछाप – २३,७३४
काभ्रेपलाञ्चोक – २०,७५२
सिन्धुली – ११,११०
ओखलढुङ्गा – १०,७८७
ललितपुर – ३,४५५
भक्तपुर – ५,५३०
काठमाडौं – ७,४३८
रसुवा – ८,५९१
मकवानपुर – ८,३४६
खोटाङ – १,१९१
सोलुखुम्बु – ४३०
स्याङ्जा – ५२०
गुल्मी – ३१५
अर्घाखाँची – १६
लमजुङ – ७

प्रतिक्रिया दिनुहोस्