एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने



काठमाडौँ,  बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो ।

त्यतिबेलाको प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको थियो । गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् ।

एशिया कप हुनुअघि भारतमा भएको एक दिवसीय सिरिजमा नेपाल भारतको ‘ए’ र बी दुबै टोलीसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तान विरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो । त्यसपछि तेस्रो स्थानको लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

नेपाली टोलीमा कप्तानको भूमिका मोहम्मद आसिफ शेखले निर्वाह गर्नेछन् भने उपकप्तान कमल सिहं ऐरी छन् । टोलीको अन्य खेलाडीमा रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् ।
टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् । सहायक प्रशिक्षकमा मनोज कटुवाल छन् । दुबै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्