कथा काडमाण्डु, छिरिङ र अनुराग सँगसँगै, तीनै फिल्ममा डेब्यु निर्देशक



यो साता एकसाथ ३ फिल्म रिलिजमा आउने भएका छन्। आज शुक्रबार देशभरि कथा काठमाण्डु, छिरिङ र अनुराग रिलिजमा आउनेछ।

सञ्चारकर्मी, म्युजिक भिडियो निर्देशक तथा पुस्तक लेखिका संगीता श्रेष्ठको डेब्यु निर्देशनमा बनेको कथा काठमाण्डु राजधानीको ३ भिन्न कथालाई देखाउने प्रयास गरिएको छ। प्रमोद अग्रहरी र प्रियंका कार्कीको हट सिनका कारण चर्चा र विवादमा रहेको फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी छिन्। विजय राईद्वारा निर्मित फिल्ममा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा मोहित मुनाल, कमल खत्री, प्रदीप बास्तोला र सुरजविक्रम थापाको संगीत, अष्ट महर्जनको द्वन्द्व, लुजा सिंहको छायांकन र मित्र गुरुङको सम्पादन रहेको छ। ‘फिल्मले समाजकै कथा बोकेको छ। यो काठमाडांैका भिन्न तीन पात्रको कथा हो, जो पीडा सहे तापनि मुस्कुराउन बाध्य छन्।’ –निर्देशक संगीता भन्छिन्।

आजै रिलिजमा आउने अर्को फिल्म छिरिङलाई गायक तथा अभिनेता यश कुमारले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। एक्सन र प्रेम मिसिएको फिल्म २ पुरुषका एक श्रीमतीको कथामा बनेको छ। फिल्मले आर्य र मंगोल समुदायको द्वन्द्वको कथा बोल्ने निर्देशक यश कुमारले जानकारी गराए। फिल्ममा यस कुमार स्वयं प्रमुख भूमिकामा छन्। उनको साथमा अर्का गायक निमा रुम्बा पनि प्रमुख भूमिकामा छन् भने कामना भुजेल नायिका रहेकी छिन्।

गायक यश कुमार लगातार फिल्ममा आइरहे पनि गायक रुम्बा १ दशकपछि फिल्ममा फर्केका हुन्। उनले १० वर्षअघि पहिलो डिजिटल फिल्म कागवेनीबाट अभिनयमा डेब्यु गरेका थिए। रिदम फिल्म्स्को ब्यानरमा आईबी दर्नाल, सुनील माथेमा प्रधान र नवीन बुढाथोकीद्वारा निर्देशित फिल्ममा कथा सविर श्रेष्ठ, पटकथा यश कुमार र यम थापा, संगीत स्व. अम्बर गुरुङ, प्रकाश गुरुङ र यश कुमार, कोरियोग्राफी कविराज गहतराज र गोविन्द प्रभात, द्वन्द्व चन्द्र पन्त, छायांकन मानकृष्ण महर्जन तथा सम्पादन मिलन श्रेष्ठ र साहिल खानको रहेको छ। छिरिङको निर्माण सम”हले बिहीबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर शो गरेको छ। जहाँ, फिल्मकर्मीका साथमा राजनीतिज्ञ सहभागी थिए।

सांगीतिक प्रेमकथाको फिल्म अनुराग नवनिर्देशक सत्यराज चौलागार्इंले निर्देशन गरेका छन्। पत्रकार ऋषि धमलाको प्रस्तुतिमा बनेको फिल्ममा उनकी पत्नी एलिजा गौतमले नायिकाका रूपमा डेब्यु गरेकी छिन् भने समुद्रराज पण्डित नवनायक रहेका छन्। फिल्ममा एलिजा र समुद्रको साथमा सरोज खनाल, रूपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणालगायतले अभिनय गरेका छन्। भरत गौतम र गीता भेटवालद्वारा निर्मित फिल्ममा कथा किरण ढकाल, पटकथा र संवाद निर्देशक चौलागाईं र अगात केसी, संगीत ताराप्रकाश लिम्बु र सरोज पोखरेलको रहेको छ।

प्रतिक्रिया दिनुहोस्