चेल्सी र आर्सेनल चौथो चरणमा



लिभरपुललाई हराउँदै चेल्सी कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति लिभरपुललाई उसैको मैदानमा २–१ गोलले हराउँदै चेल्सी चौथो चरणमा पुग्न सफल भएको हो ।

चेल्सीका लागि इमर्सन र इडेन हाजार्डले गोल गरेका थिए । लिभरपुलका लागि ड्यानियल स्टुरिजले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । खेलको ५९ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गरेपछि लिभरपुल खेलमा १–० ले अघि बढेको थियो ।

यस्तै ७९ औं मिनेटमा इमर्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा रहेको थियो । तर, ८६औं मिनेटमा हाजाडेले निर्णायक गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।

यस्तै अर्को खेलमा आर्सेनलले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको छ । आर्सेनलको जितमा ड्यानी वेल्बेकले दुई तथा एलेक्जेन्डर लाकाजेटले एक गोल गरेका थिए । पराजित टिमका लागि एलन जजले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै आर्सेनलले ड्यानियल वेल्बेकको गोलमार्फत खेलमा अग्रता बनाएको थियो ।

यसैगरी खेलको ३७ औं मिनेटमा वेल्बेकले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेपछि आर्सेनल २–० ले अघि बढेको थियो । खेलको ५८ औं मिनेटमा एलज जजले गोल गरेपछि ब्रेन्टफोर्डले खेलमा फर्कने संकेत दिएको थियो । तर, ९०औं मिनेटमा लाकाजेटले आर्सेनलका तर्फबाट तेस्रो थपेपछि ब्रेन्टफोर्ड घुँडा टेक्न बाध्य बन्यो ।

प्रतिक्रिया दिनुहोस्