नेपालमा आपराधले सीमा नाघ्यो



नेपालमा पछिल्लो समय हत्या, हिंसा, बलात्कारका घटना यति विघ्न बढेका छन् कि मुलुकमा राज्यविहीनताको झल्को आउन थालेको छ । रौतहटमा १८ वर्षीया सम्झना दासको एसिड आक्रमणबाट मृत्यु भयो ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै गत भदौ २७ गते चन्द्रपुर नगरपालिका–६ का वयोवृद्ध रामबाबु पासवानले सम्झना र उनकी बहिनी सुस्मितामाथि एसिड आक्रमण गरे । सम्झनाको आइतबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । एसिड आक्रमणबाट सम्झनाको मृत्युको खबर सेलाउन नपाउँदै नवलपुरको कावासोती–९, डण्डाबजारकी वसन्ती परियार एसिड र चक्कु आक्रमणमा परेकी छन् । उनी जीवन–मृत्युबीच भरतपुर अस्पतालको कोमामा छटपटाइरहेकी छन् । यस घटनामा पनि छिमेकी विमल सिर्पालीको संलग्नता पुष्टि भएको छ । बिहे भइसकेका विमलले विवाहित वसन्तीलाई बिहे गर्न नमानेका कारण आक्रमण गरेको बयान प्रहरीलाई दिएका छन् ।

एसिड आक्रमणका यी दुुई घटनाले नेपाली समाजमा भइरहेको आपराधिक गतिविधि उजागर गर्छ । आफूले मन पराएकी युवतीले प्रेमसम्बन्ध अस्वीकार गर्दा, बिहे गर्न नमान्दा, यौन प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार गर्ने, बलात्कार गरी हत्या गर्नेजस्ता अपराध हुँदै आएका छन् । देशभर आपराधिक घटना न्यूनीकरण हुन नसक्दा र सरकारले अपराधी पक्राउ गर्न नसक्दा निकम्मा साबित भइरहेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या प्रकरणमा दुई महिनासम्म पनि अपराधी पक्राउ परेका छैनन् ।

पछिल्लो समय छिमेकी र आफन्तबाटै बालिकादेखि वृद्धासम्म असुरक्षित देखिएका छन् । कति बेला को कहाँ बलात्कृत हुन्छ ? कति बेला कसको हत्या, अपहरण गरिन्छ ? र, कसले कसकी छोरी, श्रीमतीलाई एसिड प्रहार गरेर घाइते बनाउँछ ? यसै भन्न सकिँदैन । भयरहित, न्यायपूर्ण र शान्तिपूर्ण हुनुपर्ने समाज कति बेला भय–त्रास, अन्याय र अशान्तिमा परिणत हुन्छ, त्यसको पनि अनुमान गर्न नसकिने भएको छ । जनताले शान्तिपूर्णरुपमा बाँच्न नपाउने, पेसा–जीविका गर्न नपाउने, स्वतन्त्रतापूर्वक हिँडडुल गर्न नपाउने अवस्था सृजना हुँदै आएपछि लोकतन्त्र कहाँ रह्यो ? जनता दिनदहाडैै मर्नुपर्दा पनि अपराधी पक्राउ नपर्दा सरकारको उपस्थिति कहाँनेर रह्यो ?

देशमा दुई तिहाइ बहुमतको सरकार छ । तर, विडम्बना ! जनता घरघरमै असुरक्षित छन् । टोलटोलमा प्रहरी छ, अपराध मौलाइरहेको छ । प्रशासन छ, बजारमा बेथिति, कालोबजारी र लुटतन्त्र व्याप्त छ । देशमा मानव तस्करी, चेलीबेटी बेचबिखन, सुन तस्करी बढिरहेको छ । सिन्डिकेट विरोधी सरकार सिन्डिकेट व्यवसायीसँगै सहमति गरेर गाडी भाडा बढाउँछ । चाडबाडको समयमा मूल्य वृद्धि नियन्त्रण गर्नेतर्फ चासो छैन । पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ ।

अनियमितता बढेर गएको छ । लापर्वाहीले पराकाष्ठा नाघेको छ । जनता निराश छन् । जनप्रतिनिधिहरु मम पसलको उद्घाटनमा रिबन काट्दै समृद्धि अलापिरहेका छन् । जनप्रतिनिधिहरुले हिंसामुक्त समाजका लागि घरदैलो गर्ने बेला आएको छ, रिबन काटेर समय गुजार्ने होइन । दिनहुँ विभिन्न प्रकृतिका आपराध सार्वजनिक भइरहँदा सामाजिक संवेदनशीलता न्यून हुनु दुर्भाग्य हो । सामाजिक उदासीनता बढ्नु भनेको अपराधले प्रश्रय पाउनु हो । राज्यका हरेक निकायले बढ्दो अपराध नियन्त्रणका लागि समीक्षा गर्दै अपराधीहरुलाई दण्ड दिलाउनु आवश्यक छ ।
– प्रतिभा पोख्रेल, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्