नेपाल–चीन ऊर्जा संयन्त्रको पहिलो बैठक भोलि



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल र चीनबीच ऊर्जा संयन्त्रकोे बैठक भोली शुक्रबार काठमाडौंमा आयोजना हुने भएको छ। पहिलोपटक आयोजना हुन लागेको उक्त बैठकमा ऊर्जा क्षेत्रमा दुई देशबीच गर्न सकिने सहकार्य र लगानीका विषयमा छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार यस बैंठकबाट दुई देशले ऊर्जा क्षेत्रमा गरेको लगानी र त्यसको मोडालिटी, उत्पादन, बजार विस्तार, अन्तरदेशीय प्रशारणलाइन र ऊर्जा व्यापारका विषयमा छलफल हुनेछ। ‘चीनले विदेशमा गर्ने लगानीको मोडालिटी, विद्युत् उत्पादन र बजारको अवस्थाका बारेमा हामी छलफल गर्नेछौं। बैठकमा नेपालले राख्ने मुख्य मुद्दा चीनसँग भएको विद्युत् आदान–प्रदानसम्बन्धी सम्झौताको कार्यान्वयन पनि हो।’ –नेपाल समाचारपत्रसँग कुरा गर्दै घिमिरेले भन्नुभयो। ऊर्जा संयन्त्रबाट दुवै देशले आ–आफ्ना देशका समस्या र सम्भावनाहरू प्रस्टसँग राख्न सजिलो हुने अपेक्षा राखिएको उहाँको भनाइ छ।

दुई देशबीच ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास गर्दै विद्युत् आदान–प्रदान एवं अन्तरआबद्धताको विषयलाई ऊर्जा संयन्त्रले पहिलो प्राथमिकतामा राखेको छ। दुई देशबीच विद्युत् उत्पादन, प्रसारण तथा निर्माणमा गर्न सकिने सहकार्य र दीर्घकालीनरूपमा महŒव राख्ने ऊर्जा तथा जलविद्युत्को आदान–प्रदानका लागि बैंकले प्रारम्भिक मस्यौदा तयार पार्नेछ। नेपाल र चीनबीच यसअघि भएका जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने, लगानीमैत्री वातावरण तयार गर्ने र उत्पादित विद्युत् व्यापारका विषयमा भएका सहमति कार्यान्वयनका लागि पनि बैठकमार्फत पहल गरिने प्रवक्ता घिमिरेले बताउनुभयो। त्यसै गरी, चिनियाँ लगानीकर्तालाई नेपालको जलविद्युत्का क्षेत्रमा लगानीका लागि पहल गर्न पनि उक्त बैठक कोशेढुंगा सावित हुने उहाँको भनाइ छ। अन्तरदेशीय प्रसारणलाइनसम्बन्धी बिमस्टेक सदस्य राष्ट्रहरूबीच भएको सम्झौतापछि नेपालमा उत्पादित बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियाँ लगानीकर्तालाई आकर्षित गर्न सजिलो हुने देखिन्छ।

‘चीनले विदेशमा गर्ने लगानीको मोडालिटी, विद्युत् उत्पादन र बजारको अवस्थाका बारेमा हामी छलफल गर्नेछौं। बैठकमा नेपालले राख्ने मुख्य मुद्दा चीनसँग भएको विद्युत् आदान–प्रदानसम्बन्धी सम्झौताको कार्यान्वयन पनि हो।’

नेपाल र चीनलाई विद्युत्मार्गबाट जोढ्ने उद्देश्यका साथ अगाडि बढिरहेको गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारणलाइन निर्माणको विषय पनि बैंठकको मुख्य एजेन्डामा राखिएको छ। चीनको महŒवाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि पछिल्लो समय नीतिगत र प्राविधिक पक्षलाई दुवै देशले प्राथमिकताका साथ अगाडि बढाइरहेका छन्। आयोजनाको प्राविधिकरूपमा निर्माण सम्भाव्यता अध्ययन र नीतिगतरूपमा दुई देशबीच एमओयू गर्ने कार्यका लागि बैंठकमार्फत पहल गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्