बाघ किन घटे ? छानबिन आवश्यक



विश्व बाघ दिवस मनाइएको करिब दुई महिनापछि मात्रै सरकारले बाघको तथ्यांक सार्वजनिक गरेको छ। हरेक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ संरक्षणसम्बन्धी विविध कार्यक्रम गर्दै आए पनि यस वर्ष बाघको तथ्यांक सार्वजनिक गरेको थिएन। कारण थियो बाघको संख्या उल्लेख्य नबढ्नु। सन् २०१३ मा नेपालभर बाघको संख्या १९८ रहेको थियो। जसमध्ये चितवनमा मात्रै १२० संख्यामा बाघ थिए।

पाँच वर्षमा नेपालभर ३७ बाघ बढेर २३५ पुग्दा चितवनमा २७ बाघ घटेर ९३ मा झरेको छ। कालगति, विषादीलगायत विविध कारणले चितवनमा १८ बाघ मरेका थिए। नौ बाघ बासस्थान अभाव, बाढी र बसाइँ सरेर अन्यन्त्र गएको हुनसक्ने वन्यजन्तु संरक्षण विभागको ठहर छ। जे–जस्तो कारणले बाघको संख्या घटे पनि पर्यटकीय क्षेत्र चितवनमा बाघको संख्या घट्नुलाई चिन्ताको विषय मानिएको छ। चितवनबाहेक बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ रहेको तथ्यांक छ।

विश्वमा बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरूको सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको छ। बाघका लागि उत्तम बासस्थान मानिएको चितवनमा बाघको घट्दो संख्याले लक्ष्य पूरा हुन चुनौती देखिएको छ। विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ। एसियामा नेपाल, भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, भूटान, म्यानमार, लाओस, उत्तर कोरियालगायतका देशमा बाघ पाइन्छ। दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार नियमन गर्ने महासन्धि साइटिसले बाघलाई अति संकटापन्न अवस्थामा पुगेका प्रजातिमा राखेको छ।

अहिले विश्वमा करिब ३ हजारको हाराहारीमा मात्रै बाघ पाइने गरेको छ। चितवनमा बाघको संख्या घटेपछि संरक्षणकर्मीहरूले चिन्ता मानेका छन्। बाघको बासस्थानका लागि चुनौतीहरू थपिँदै गएपछि संरक्षणकर्मीमा चिन्ता बढेको हुनुपर्छ। भनिन्छ, बाघ बूढो भए पनि घाँस खाँदैन। उसका लागि आहार प्रजातिका जनावर नै चाहिन्छ। बाघको आहार प्रजाति जोगाउन पर्याप्त घाँसे मैदान हुनुपर्छ। पछिल्लो समय सीमसार क्षेत्रहरू पुरिँदै जानु, बासस्थान साँघुरिँदै जानु, निकुञ्जभित्र पर्यटक आवागमन र मानवीय चाप बढ्नुलाई बाघ घट्नुको कारक मानिएको छ।

बाढी र विषादी पनि बाघ संरक्षणमा बाधक बन्न पुगेको छ। जलवायु परिवर्तनको प्रकोपका कारण पानी सुक्ने, बाढीपहिरोजस्ता प्रकोपले रोगव्याधि फैलने सम्भावना पनि उत्तिकै देखिन्छ। प्राकृतिक प्रकोपलाई रोक्न त सकिँदैन। तर प्राकृतिक स्रोतको दोहन र आर्थिक विकासका लागि गरिने विकास निर्माणका कार्यले बाघ प्रजातिको अस्तित्वलाई भने खतरामा पार्छ। वन विनाश, आगलागी, राजमार्ग, उद्योगधन्दा, विमानस्थल, रेलमार्ग, बस्ती विकास र बढ्दो शहरीकरणले बाघ संरक्षणमा चुनौती थपिएको छ।

चितवनमा वन्यजन्तुको चोरी सिकार नियन्त्रणमा सफलता हासिल भइरहेको भनिरहँदा बाघको चोरी सिकार र तिनका अंगको अवैध व्यापार हुनसक्ने सम्भावनालाई पनि नजरअन्दाज गर्न सकिँदैन। बाघ मानवबस्तीमा प्रवेश गरेर आक्रमण गर्नु, मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै जानुले बाघको संरक्षणमै चुनौती थपेको छ। चितवनमा २७ बाघ घट्नु शुभसंकेत होइन। विज्ञहरूले चितवन निकुञ्जमा बाघको बासस्थानबारे अध्ययन गरी बाघ घट्नुको ठोस कारण सार्वजनिक गर्नुपर्छ। बाघको वातावरण र संरक्षणबीच सन्तुलन कायम गर्नु आर्थिक समृद्धि र दिगो विकासको न्यूनतम सर्त भएकाले यसतर्फ पनि सरोकारवालाले ध्यान दिनु आवश्यक देखिन्छ।
– नन्दा सिवाकोटी, चितवन।

प्रतिक्रिया दिनुहोस्