हराउँदै लुभुको पहिचान टेक्सटायल उद्योग संकटमा



सुनिल महर्जन
कपडाको माग घटेपछि बालकृष्ण श्रेष्ठको टेक्सटायल पनि संकटमा छ। पहिला उद्योगका २४ थान मेसिन २४सै घन्टा चलेका हुन्थे। अहिले ८ वटा मेसिन १२ घन्टा पनि चलेका छैनन्। ‘माग आएमात्र कपडा उत्पादन गर्न थालेका छौं, स्टकमा कति दिन माल थुपारेर राख्ने’ –उनी भन्छन्।

परिवारको कपडा उद्योग थियो, एसएलसी पास गर्नेबित्तिकै यहाँका हरिकुमार श्रेष्ठलाई बुबाले ठमेलमा पसल खोलिदिए। बिहान कलेज जाने र दिनभर ठमेलको पसलमा बस्ने उनको दैनिकी बन्यो। बुबाले चलाउने लुभु गणेश सुती उद्योगको उत्पादन ठमेलको पसलबाट बिक्री हुन्थ्यो। हरिको परिवार टेक्सटायल उद्योगमा लागेको १८ वर्ष बितिसक्यो।
यहाँस्थित एनबी टेक्सटायल उद्योगलाई भूकम्पअघि कपडा बनाउन भ्याई नभ्याई हुन्थ्यो। अर्डरका सामान दिन चौबीसै घन्टा उद्योग चलाउनुपथ्र्यो। न्यून बिजकीकरण र चोरीपैठारीका सामानले स्थानीय उत्पादनको बजार खाइदिए। बजार गुमेपछि एनबी टेक्सटायल बन्द छ। लुभुमा औद्यौगिक ग्राम नहुँदा कपडा बुन्ने उद्योग संकटमा पर्दै गएको यो उदाहरण हो। ‘अवस्था यस्तै रहिरहे इतिहास बोकेको लुभुका कपडा उद्योग इतिहासमै विलिन हुनेछन्’ –ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नं २ का अध्यक्ष केशव श्रेष्ठले निराशा व्यक्त गरे।

कपडा बुन्ने उद्योग सरकारी उदासीनताका कारण संकटमा परेपछि उद्यमीहरूले औद्योगिक ग्राम स्थापना गर्नुपर्ने आवाज उठाउन थालेका हुन्। ललितपुर उद्योग वाणिज्य क्षेत्र नं २ शाखाका अनुसार हाल १ सयका हाराहारीमा कपडा बुन्ने उद्योगअन्तर्गत १५ सयभन्दा बढी कपडा बुन्ने तान सञ्चालनमा रहेका छन्।

अन्धाधुन्ध र अनियन्त्रित तवरले बस्ती विकासबाट उद्योग सञ्चालनमा कठिनाइ भएको उद्यमी बताउँछन्। उद्योग सञ्चालनका लागि स्वीकृत लिँदा ४ किल्लाको सिफारिस अनिवार्य गरिएको कुनै एक छिमेकीले उजुरी गर्दा पनि उद्योग बन्द हुने स्थिति रहेको उद्यमी सन्तराम महर्जनले बताउनुभयो।

कपडा बुन्ने तालिमको व्यवस्था नभएको, स्थानीय युवाको पलायन भएसँगै कामदारका अभावले टेक्सटायल उद्योग संकटमा रहेको अर्का उद्यमी बालकृष्ण श्रेष्ठको कथन रहेको छ। ‘हाल रहेका अधिकांश उद्योग आफ्नो घरसँगैका टहरामा बनाइएका छन्। त्यस्ता उद्योग अव्यवस्थित र छरिएका छन्। उद्योगबाट ध्वनि प्रदूषण हुने भएकाले छरछिमेकीले असन्तुष्टि व्यक्त गर्छन्’, शाखाका अध्यक्ष केशव श्रेष्ठले भन्नुभयो– ‘ती उद्योगलाई स्थानान्तरण गरी एकीकृत गर्न, आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन, वैकल्पिक ऊर्जाको सहज व्यवस्था, उचित पूर्वाधार बनाउन औद्योगिक ग्राम बनाउनु टड्कारो भइसकेको छ।’

शाखाका अध्यक्ष केशव श्रेष्ठले सयौं वर्षदेखि आत्मनिर्भर क्षेत्रको रूपमा पहिचान बोकेको लुभुलाई औद्योगिक ग्राम घोषणा गर्न सके यहाँका उद्योगको प्रबद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष श्रेष्ठका अनुसार अहिले लुभुबाट सुती कपडा, पस्मिना सल, बुट्टे सल, सक्कली ढाका, उनी सल, मफलर, हाकुपतासी उत्पादन हुँदै आएको छ। उत्पादित कपडा अमेरिका, फ्रान्समा समेत निर्यात गरिँदै आएको छ।

कपडा बुन्ने उद्योगको इतिहास
लुभु देवननी वडा नं। १ निवासी रामलाल श्रेष्ठ जसले टेक्निकल स्कुल काठमाडांैबाट कपडा बुनाई तालिम लिएर बनेपामा कपडा बुनाइसम्बन्धी आधारभूत तालिम दिने शिक्षकका रूपमा काम गर्नुभएको थियो। उहाँकै अगुवाइमा विसं १९९५ सालतिर कपडा बुनाइको शुरूआत भएको थियो। उहाँ र नरबहादुर श्रेष्ठ मिलेर घर–घरमा तान तथा कच्चा माल दिएर कपडा बुन्न लगाएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। त्यसपछि प्रत्येक घरमा परम्परागत ढाका बुनाइको काम हुने गरेको थियो। यसले गर्दा लुभुलाई दोस्रो पाल्पा र नेपालको जापान भनेर चिनिन्थ्यो।

जापान भन्नेबित्तिकै हामी मिहिनेती र परिश्रमीको देश सम्झन्छौं, तर जापानीको श्रम हेर्न जापान गइराख्नै पर्दैन। ललितपुरको लुभुमै भेटिन्छ– ‘मिनी जापान’। औद्योगिक क्षेत्रजस्तो वातावरण छ त्यहाँ।सन् २०१३ तिरको कुरा हो। एक जापानी पर्यटक घुम्दाघुम्दै ललितपुरको लुभु पुगेछन्। त्यहाँका हरेक घर–घरबाट कपडा बुन्ने तानको आवाज निस्किरहेको थियो। कसैका हात खाली थिएनन्। सबै आ–आफ्नै काममा व्यस्त। यता हेरे पनि उद्योग, उता हेरे पनि उद्योग। उनलाई लागेछ– ‘अहो १ जापानबाहिरको अर्को जापान त लुभुमा पो रहेछ।’ त्यसै दिनदेखि लुभुलाई ‘मिनी जापान’ भन्न थालिएको श्रेष्ठ सुनाउँछन्।

हातेतानको विकासका साथै २०२६ सालमा नेपालमा बनेको सेमी अटोलुम र विसं २०३१ सालमा स्वचालित तानको प्रयोगमा ल्याइएको थियो। अर्धस्वचालित तानले हातेतानले भन्दा बढी कपडा उत्पादन हुने गर्दछ। स्वचालित तानबाट त्योभन्दा बढी कपडा उत्पादन हुने भएकाले हाल अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रोनिक्स मेसिनबाट तुलनात्मकरूपमा गुणस्तरीय कपडा उत्पादन हुँदै आएको छ।

लुभुनजिकै ठैब, बाँडेगाउँमा हाल अत्याधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरी गुणस्तरीय कपडा उत्पादन गर्ने ९० वटा उद्योगमा १ हजार ४ सय वटा तान रहेका छन्। त्यस क्षेत्रका उद्योगी व्यवसायीको समस्या र चुनौती पनि लुभुकोभन्दा फरक नभएको पनि अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्