क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड



बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पस र बुटवलमा क्याम्पस प्रमुखको कार्यकक्ष आज तोडफोड भएको छ ।

क्याम्पस प्रमुखको टेबुल, कुर्सी, टेलिफोन र सवारी साधनसमेत तोडफोड भएको लुम्बिनी वाणिज्य क्याम्पसले जनाएको छ । क्याम्पसमा सञ्चालक समितिले आठ प्राध्यापक र तीन जना कर्मचारी छनोट गरेको विषयमा अहसमति जनाउँदै नेपाल विद्यार्थी सङ्घले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले त्रिभुवन विश्वविद्यालयको ऐन, नियम र परिधिमा रहेर सञ्चालक समितिको निर्णयअनुसार उम्मेदवार छनोट भएको जानकारी दिँदै सञ्चालक समितिले कानूनी प्रक्रिया अवलम्बन गर्छ भन्नुभयो । उहाँले कुनै छलफलबिना नियोजित रुपमा निराधार आरोप लगाएर तोडफोड भएको उल्लेख गर्नुभयो । तोडफोडमा नेवि सङ्घका टङ्क पाण्डे, सुरज क्षेत्री, अशोक गौतम, तिलक रानालगायत संलग्न रहेको क्याम्पसले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्