श्रीमानको कुटाईले श्रीमतीको मृत्यु



बाँके ।
बाँकेका एक महिलाको श्रीमानको कुटाईबाट मृत्यु भएको छ ।
गनापुरकी २४ वर्षीया जानकी गिरीलाई श्रीमान प्रेम गिरीले कुट्दा मृत्यु भएको हो । तीन दिनअघि घरमा झगडा हुँदा प्रेमले श्रीमतीलाई कुटोले हानेका थिए । श्रीमानले कुटेपछि गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि नर्सिङहोम, नेपालगञ्जमा ल्याइएको थियो । जानकीको बुधबार बिहान उपचारको क्रममा मृत्यु भयो ।
मदिरा सेवन गरेका श्रीमानसँग झगडा हुँदा कुटोले हानेको माइती पक्षले बताएका छन् । माइती पक्षले प्रेमका विरुद्धमा प्रहरीमा जाहेरी दिएका छन् । श्रीमान फरार रहेका छन् । उनी भारततिर भागिसकेको आफन्तीहरुले बताए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी अरुण पौडेलले श्रीमतीको कर्तब्य गर्ने श्रीमानको खोजी भइरहेको बताए । ‘हामीले उसको खोजी गरिरहेका छौं, एसपी पौडेलले भने ।
मदिराले घरेलु हिंसा बढाएको छ । जिप्रकाको महिलासेलमा दैनिक आउने श्रीमान–श्रीमतीका झगडाको तथ्यांकले पनि यस्तो देखाउँछ । घरेलु हिंसा अन्ततः अपराधमा परिणत हुने गरेको छ । विगतमा कचनापुर र कोहलपुरमा श्रीमतीले श्रीमान र श्रीमानले श्रीमतीको हत्या गरेका घटना पनि मदिरासँग जोडिएर आएको थियो । हालै हिरमिनियामा श्रीमानले श्रीमतीको कर्तब्य गरेको भने ‘परपुरुष’संगको शंका थियो । यद्यपि, कचकच, झगडा, कुटपिट हुँदै जघन्य अपराधसम्म पुग्नुमा मदिरा जोडिएर आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्