सिमा सुरक्षा पोस्ट राख्न प्रजिअको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षलाई अनुरोध



किरन धामी, दार्चुला ।
दार्चुलाको उत्तरी सीमा क्षेत्रमा सिमा सुरक्षा पोस्ट स्थापना गर्ने विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण बाबु थापा संग छलफल गर्नु भएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयको आधारमा दुई पटक सशस्त्र प्रहरीको सिमा सुरक्षा पोष्ट (विओपी) स्थापना गर्ने विषयमा गृह मन्त्रालयमा सिफारिस गरिएकोमा हाल सम्म पनि कुनै किसिमको प्रतिक्रिया नआए पछि प्रमुख जिल्ला अधिकारी आचार्यले सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक थापा संग यो विषयमा छलफल गर्नु भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर काठमाण्डौँबाट दार्चुला जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ५० गुल्मको अनुगमन निरिक्षणमा आउनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक थापालाई सो विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत रहेको तथा नेपाल तिरको सिमा क्षेत्रमा खासै सुरक्षाको प्रबन्ध नभएको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सो विषयमा छलफल गरेका हुन् । खुला सीमा नाका भएका कारण विभिन्न अपराध, मानव बेचबिखन, चोरी तस्करी लगायतका घट्ना बढ्ने भन्दै सिमा सुरक्षा पोस्ट राख्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी आचार्य बताए ।

नेपाली भुमी तिर सुरक्षाको खासै प्रबन्ध नभएकै कारण समय समयमा भारतबाट विभिन्न कुराहरुमा हस्तक्षेप हुदै आएको छ । जिल्ला सुरक्षा समितिको बैठकले दार्चुलाको ब्याँस गाउँपालिकाको छागंरु र तिंकरमा सिमा सुरक्ष पोस्ट स्थापनाका लागी गृह मन्त्रालयमा दुई पटक सिफारिस पठाएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षा व्यवस्था सवल बनाउन आफुहरु लागिरहेको तथा सिमा सुरक्षा पोस्ट स्थापना गर्ने कुरामा समेत पहल गरिने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्