खानेपानी मन्त्रालयले दुई निर्देशिका मस्यौदा समिति बनाउँदै



नेपाल समाचारपत्र, काठमाडौं ।

खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरहरुको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकमा देशैभरि ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था लागु गर्न मस्यौदा समिति बनाउने निर्णय गरिएको हो ।

मन्त्रालयले बनाउन लागेको समितिको नाम पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति रहेका छन् ।

पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समितिको संयोजकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा र सदस्यहरुमा रमेश केसी, डेल प्रसाद चापागाई, नारायण खनाल र सुरेश महाजु र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समितिको संयोजकमा सहसचिव अनिलभद्र खनाल, सदस्यहरुमा मिना श्रेष्ठ, संजीव विक्रम राणा, अर्जुन ढकाल, टिकाबहादुर चौधरी र सुरत बम रहनु भएको छ ।

बैठकमा मन्त्री मगरले कामको गति बढाउन सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा खानेपानी मन्त्री समक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले साप्ताहिक रिपोर्टिङ गरेका थिए । यसैबीच अघिल्लो साता काठमाडौं उपत्यका लगायत देशका ७५ वटै जिल्लामा ढलको अनुगमन गरिएको थियो । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा रहेका अस्पतालहरु मध्ये ३८ वटा अस्पताल र ३६ वटा होटलको अनुगमन गरिएको रिपोर्टिङ बैठकमा पेश भएको थियो ।

बैठकमा मन्त्रालयसँगको समन्वय मार्फत वाटर एडको सहकार्यमा नेपाल खानेपानी संस्थानले सिरहाको लहान नगरपालिका वडा नं. १ देखि १० सम्मको सेवा क्षेत्रमा रहेका गरिब निमुखा जनतालाई खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको जानकारी समेत गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्