निर्देशक बिरही गम्भिर अस्वस्थ



विदुर गिरी,

फिल्म निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरही गम्भिररुपमा अस्वस्थ भएका छन्।
२ वर्षअगाडि कलेजोको समस्या बेहोरी स्वास्थ्य उपचारपश्चात सामान्य अवस्थामा फर्किएका उनलाई अचानक रुखा खोकी लागी ज्वरोले गालेपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य परिक्षणका क्रममा निमोनिया भएको पाइएको र मृगौलासमेत असर परेको देखिएको उनकी पत्नीले न्युज अफ नेपाललाई जानकारी गराइन्। हाल उनी नर्भिक अस्पतालको सघन उपचार कक्षमा छन् भने औषधीले काम गर्न छोडेको छ। उनको छोरा अष्ट्रेलिया र छोरी अमेरिकामा छिन्। गगनको स्वास्थ्य गम्भिर भएकाले छोरी अमेरिकाबाट नेपाल आउन लागेको गगनपत्नीले जानकारी गराइन्।
६१ वर्षिय विरही गीत लेखन, साहित्य सिर्जनादेखि फिल्म लेखन, निर्माण र निर्देशनसम्म सक्रिय थिए। बिरही फिल्म निर्माता तथा निर्देशकभन्दा पहिला नाम चलेका कवि तथा गीतकार हुन्। कविता र गीतले बनेका बिरही नेपाल टेलिभिजनको पूर्व समाचारबाचकसमेत हुन्। उनले थुप्रै फिल्मका लागि गीत लेखेका थिए भने साहित्यीक कृति पनि बजारमा ल्याएका थिए। आधुनिक गीत लेखनमा समेत दरिलो नाम बनेका बिरहीले झझल्को, मितेरी गाउँ, शिखर र घर आगनजस्ता फिल्मको निर्देशन गरेका छन् भने बादल नामक फिल्मको प्रस्तुतकर्ता रहेका थिए।
मितेरी गाउँ, शिखर र घर आँगन उनी आपैmँले निर्माण गरेका थिए भने कतिपय फिल्म लेखन कार्य पनि गरेका थिए। कलेजोको समस्याबाट सामान्य अवस्थामा आएपछि उनी साहित्य सिर्जनामा सक्रिय हुन थालेका थिए।

 

प्रतिक्रिया दिनुहोस्