राजधानीमा ४ दिने फिल्म फेस्टिभल



राजधानीमा ४ दिने फिल्म फेस्टिभल शुरू भएको छ। नेपाल फिल्म सोसाइटीको आयोजनामा मंगलबार काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (किफ) २०१८ शुरू भएको हो। फेस्टिभलमा नेपाली फिल्म भुईंमान्छेसहित ७ फिल्म सहभागी छन्।

साहित्यकार, फिल्म निर्देशक तथा लेखक चेतन कार्कीद्वारा शुभारम्भ गरिएको फेस्टिभलको पहिलो दिन निर्देशक नवराज बुढाथोकी निर्देशित फिल्म भुईंमान्छे देखाइएको थियो। एक पोस्टमार्टम चिकित्सकको जीवनमा एक युवतीको प्रवेशपछि हुने द्वन्द्व देखाइएको फिल्ममा रमेश बुढाथोकी र सिपोरा गुरुङ प्रमुख भूमिकामा छन्।

फेस्टिभलमा स्पेनको फिल्म लास ओभिजास नो पाइरडेन इल ट्रेन, इजरायलको द बेन्ड्स भिजिट, चिनको सो योङ, डेनमार्कको हाउस मिरर, फ्रान्सको पोलिस, स्लोभाकियाको लिट्टे हार्वर र अमेरिकाको अल द प्रेसिडेन्ट्स मेन देखाइनेछ।

सोसाइटीका अध्यक्ष कृष्ण मल्लले सोसाइटीले विगतका वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि फेस्टिभल गरिएको बताए। ‘यस्तो फेस्टिभलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास हाम्रो छ। नेपालीसँगै विदेशी फिल्म पनि प्रदर्शन गर्दा अन्य मुलुकका फिल्ममा भएका प्राविधिक विकासलाई नजिकबाट नियालेर लाभ लिन सकिन्छ’ कार्यक्रममा मल्लले भने। कार्यक्रममा निर्देशक चेतन कार्कीले पछिल्लो समयमा नेपाली फिल्मले फड्को मारेकोमा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा अझ विकसित रूपमा बजार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्