शम्भुजित स्वर्णिम सांगीतिक यात्रा हुने



संगीतकार, गायक तथा गीतकार शम्भुजीत बासकोटा एकल साँझमा उत्रिने भएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपतिसमेत रहेका बासकोटा आगामी १३ र १४ गते शम्भुजित स्वर्णिम सांगीतिक यात्रा२०१८ मा एकल सांगीतिक कार्यक्रममा उत्रन लागेका हुन्।

साधना कला केन्द्रको आयोजनामा सांगीतिक साँझ १३ गते राजधानीको टुँडिखेलमा निःशुल्क रूपमा सम्पन्न हुनेछ भने १४ गते सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा सशुल्करूपमा आयोजना हुनेछ। टुँडिखेलको कार्यक्रममा बासकोटाका साथ प्रेमध्वज प्रधान, योगेश वैद्य, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनन्द कार्की, यम बराल, राजेशपायल राई, अमर तण्डुकार, देविका बन्दना, कर्णदास, मनोज राज, प्रमोद खरेल, निशा देशार, टीका प्रसाईं, विश्व नेपाली, सञ्जय तुम्रुक, बानिका प्रधान, मिना निरौला, सुरेश लामा, सुरजकुमार थापा, स्मिता दाहाल, युवराज चौलागाई, केञ्जल मेहरलगायतले शम्भुजितले संगीत भरेका गीतहरू प्रस्तुत गर्नेछन्। उनीहरूले एकदेखि तीनसम्म गीत प्रस्तुत गर्ने कार्यक्रबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। कार्यक्रममा २२ जना बाद्यबादकको बाद्यबादनमा करिब ४ घन्टा गीतसंगीत प्रस्तुत गरिने बासकोटाले जानकारी गराए।

त्यसै गरी १४ गते रात्रिभोजसहित आयोजना हुने यो कार्यक्रममा भारतीय गायिका अनुराधा पौडवाल, सञ्जीवनीसहित नेपाली गायिका दीपानारायण झाले पनि शम्भुजित बासकोटाद्वारा स्वरबद्ध आफ्ना गीतहरू प्रस्तुत गर्नेछन्। कार्यक्रमका आयोजक एवम् साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपाली संगीतमा बासकोटाको ४ दशक पूरा भएको अवसरमा कार्यक्रम गर्न लागिएको बताए। उनका अनुसार यो यात्रा काठमाडौंबाट शुरु भई २ वर्षभित्र विश्वका २ दर्जनभन्दा बढी देशमा आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्