बंगबन्धुले गर्दा लिग स्थगित हुने



काठमाडौं, (नेस)
बल्लतल्ल शुरु हुन लागेको सहिद स्मारक ए डिभिजन लिग उदघाटनपछि नै स्थगित गर्नु पर्ने भएको छ । करिब ५ वर्षपछि हुन लागेको लिगलाई बंगबन्धु गोल्डकपले गर्दा स्थगित गर्नु पर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनायो । यसै साता बंगबन्धुमा सहभागिता जनाउने निधो भएपछि लिगमा असर परेको छ । केही क्लबमा रहेका राष्ट्रिय खेलाडीले बंगलादेसमा हुने प्रतियोगिताको लागि खेल्नु पर्ने भएका छन् । यसैले क्लबकै सहमतिमा एन्फाले असोज १३ गते उदघाटन खेल त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलपछि लिग स्थगित गर्ने लिएको हो ।

असोज १४ गते बंगलादेस प्रस्थान गर्नेमा मनाङ मस्र्याङदी, आर्मी, थ्रीस्टार, पुलिस, एपीएफ र च्यासल टोलीका खेलाडी रहेका छन् । नेपालले दुई वर्षअघि बंगबन्धुमा उपाधि जितेर २२ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको थियो । त्यतिबेला विजेता बनेको नेपालले ५० हजार डलर पुरस्कार प्राप्त गर्ने भएपनि २५ हजार मात्रै पाएको थियो । बाँकी रकम हालै मात्रै प्राप्त गरेपछि नेपालले बंगबन्धुमा खेल्ने सहमति जनाएको हो । नेपालले पुरै रकम नपाएसम्म बंगबन्धुमा भाग नलिने अडान लिँदै आएको थियो । नेपालले यसपटक प्रतियोगितामा ताजकिस्तान र प्यालेस्टाइनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्