‘बहादुरले पनि क्रिकेट खेल्छ र ?’



बाँके, (नेस)
नेपाली क्रिकेटका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीले भारतको पश्चिम बंगालबाट क्रिकेटको शुरुवात गरे । ‘बहादुरले पनि क्रिकेट खेल्छ र ?’ भन्ने बंगालीको कटाक्ष सहेर क्षेत्रीले क्रिकेटको शुरुवात गरेका थिए । २४ वर्ष भारत बसाईमा क्षेत्रीले ५ वर्ष ए डिभिजन लिग खेले । २०१७ सालमा बुवा चन्द्रबहादुर क्षेत्री पर्वतदेखि कलकता पुगेपछि क्षेत्री परिवार उतै बस्थे ।

भारतको चर्चित जायन्ट क्लव मोहम्मडनदेखि बेलगाछिया, बाटा हुँदै मेट्रो रेलको टीमबाट खेलेका क्षेत्री नेपाल फर्केर स्थानीय क्लब हुँदै नेपाली क्रिकेटको पहिलो राष्ट्रिय टिममा परे । सन् १९९८ मा काठमाण्डौमा भएको दोस्रो एसीसी प्रतियोगितामा नेपाली टिमको कप्तानी सम्हाले ।
२०५० सालदेखि कोहलपुर बस्दै आएका क्षेत्रीले २०५२ सालमा बाँके टीमबाट स्वदेशी मैदानमा कलैयाबाट ‘डेब्यु’ गरे । त्यसलगत्तैको १२ औं जय ट्रफी खेलेपछि उनी राष्ट्रिय टीममा परे । सन् १९९६ मा नेपाली टोलीले पहिलो मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्री टीमका उपकप्तान थिए । दुई वर्षपछि १९९८ मा कप्तान भए । बाँके टिमको समेत कप्तान रहेका क्षेत्रीले ०५६ सालमा राजबिराजमा भएको १६ औं जय ट्रफीसम्म खेले ।

२०६० सालमा क्षेत्री नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष भए । २०६१ देखि सुरु भएको छात्रा क्रिकेटको परिकल्पनाकार उनै थिए । २०६१ फागुन १५ देखि २२ गतेसम्म कोहलपुर क्रिकेट मैदान र मंगलप्रसाद माविमा छात्राले क्रिकेट खेल्दा धेरैले नौलो माने । २०६१ माघ १९ मा राजाले कु गरेपछि क्यान पुनर्गठन भयो । २०६२ मा भएको पुनर्गठनमा एलबी परेनन् । २०६३ सालमा पुनः क्यानमा फर्किए ।

यो बेला उनले लेदरबलले छात्रा क्रिकेट प्रतियोगिता गराए । २०६४ मा बाँके र रुपन्देहीको छात्राका बीचमा मैत्रीपूर्ण म्याच भयो । त्यही साल असारमा महिलाको राष्ट्रिय लिग भयो । महिला क्रिकेट राष्ट्रिय लिग हुँदा क्षेत्री संयोजक थिए । लिगबाट राष्ट्रिय टोली बन्यो । त्यसमा कप्तान नेरी थापामगरसहित बाँकेका सात जना खेलाडी परेका थिए । नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय म्याच मलेसियामा खेल्यो । महिला टोलीको व्यवस्थापक बनेर क्षेत्री नै गएका थिए ।

भारतमा पाँच वर्ष ए डिभिजन खेल्नु, नेपालको पहिलो टोलीको उपकप्तान हुँदै कप्तान, महिला क्रिकेटको शुरुवातकर्ता, क्यानमा कप्तानको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो व्यक्तिका साथै अहिले उनी आइसीसीले क्यानलाई चलायमान गराउन बनाएको स्वतन्त्र समूहको सदस्य छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी र क्षेत्रीले प्रकाशनको तयारीमा रहेको पुस्तकका बारेमा जानकारी गराए । पुस्तकको सहलेखन नेपाल समाचारपत्रका बाँकेका समाचारपत्रका संवाददाता कुमार श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्