प्रणव र कमलको जोडीलाई उपाधि



काठमाडौं, (नेस)
ललितपुरमा जारी वार्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फ प्रणव खनाल र कमल भण्डारीको जोडीले उपाधि जितेको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको पुरुष डबल्स फाइनल खेलमा प्रणव र कमलको जोडीले जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीलाई हराएको हो । तीन सेटसम्म चलेको सो फाइनल खेल निकै रोमाञ्चक भएको थियो । पहिलो सेट प्रणव र कमलले ६–१ ले सहजै जित्यो । तर दोस्रो सेटमा पुनरागमन गर्दै जितेन्द्र र सन्तोषले ६–३ ले हात पार्दा खेल निर्णायक सेटमा पुगेको थियो । जसमा कमल र प्रणवले १०–७ ले सेट र उपाधि हात पारेका हुन् ।

यसैगरी महिला डबल्सको उपाधि राणा दिदीबहिनी माहिका र मांयकाको जोडीले हात पा¥यो । फाइनल खेलमा माहिका र मायंकाले अभिलाषा विष्ट र आईरा रावतको जोडीलाई ७–५, ६–२ को सीधा सेटमा पन्छाए । योसँगै माहिका दोहोरो उपाधितिर अग्रसर भएकी छिन् । उनले महिला सिंगल्स फाइनलमा प्रेरणा कोइरालासँग खेल्नेछिन् । सेमिफाइनल खेलमा प्रेरणाले मायंकालाई हराएकी थिइन् ।

जै भएको सेमिफाइनल खेलको नतिजापछि पुरुष सिंगल्सको उपाधि भिडन्तमा जितेन्द्र परियार र निक रासट्रपले प्रतिस्पर्धा गर्नेछन् । डबल्समा उपाधि जित्न नसकेका जितेन्द्रले आफ्नै साथी सन्तोषलाई ६–२, ६–१ को सीधा सेटमा सहजै पन्छाएका थिए । अर्को सेमिफाइनल खेलमा भने निकले प्रदीप खड्कालाई ६–१, ६–२ ले हराएका थिए । प्रतियोगितामा उत्कृष्ट लयमा रहेका निकले सेट ड्रप गरेका छैनन् । दुबै सिंगल्स फाइनल खेलहरु आज बिहान ७ बजेदेखि शुरु हुनेछ ।

कमल भण्डारी र प्रणव खनाल प्रतिस्पर्धा गर्दै । तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्