अलमलमा बाहिरी चक्रपथ आयोजना



सुरेश तामाङ, काठमाडौं ।
उपत्यकामा निर्माण गरिने बाहिरी चक्रपथ आयोजना अलमलमा परेको छ । बाहिरी चक्रपथ आयोजनाले बनाउने भनिएको पहिलो चरण अन्तर्गतको चोभार–सतुंगल खण्डको जग्गा अधिग्रहण गर्न गएको बैशाखमा मन्त्रिपरिषदले स्विकृती दिने निर्णय ग¥यो तर काम अझै पनि अघि बढ्न सकेको छैन ।

शहरी विकास मन्त्रालयले १३ वैशाख २०७४ मा बाहिरी चक्रपथको पहिलो खण्ड सतुंगल–चोभार खण्डको डिपिआर स्विकृत गरेको थियो । आयोजनाले भने सोही बर्षको असार अन्तिम साता जग्गा अधिग्रहणका लागि मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्ताव लगेको हो । प्रस्ताव लगेको १ वर्ष पछि बल्ल जग्गा अधिग्रहणको लागि स्वीकृती दिने निर्णय त गरियो । तर काम सुरु हुन भने अझै कति दिन र बर्ष लाग्ने हो त्यो अझैसम्म पनि अन्यौल नै छ ।

मन्त्रीपरिषदबाट स्विकृतिको निर्णय नआउँदा आयोजनाले चक्रपथ निर्माणको प्रकृया अघि बढाउन सकेको छैन । अनुमति पाएसँगै आयोजनाले मन्त्रालयबाट स्विकृत डिपिआर र जग्गा रोक्काको सूचना राजपत्रमा प्रकाशित गर्ने छ ।

‘हामी अहिले पर्ख र हेरको अबस्थामा छौँ,’ आयोजना इन्जिनियर रामकृष्ण बाखुले भन्नुभयो–‘मन्त्रिपरिषदबाट स्विकृत भएको निर्णय नआउँदा डिपिआर र जग्गा रोक्काको सूचना राजपत्रमा छाप्न पाएका छैनौँ ।’ राजपत्रमा प्रकाशित सूचना कानुन बन्ने भएकोले आयोजना कार्यान्वयनमा सहज हुने भन्दै राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने उहाँको भनाई छ ।

‘आयोजनाले लामो समयपछि बल्ल मन्त्रिपरिषदबाट जग्गा अधिग्रहण गर्न स्विकृती पाएको छ,’ उहाँले भन्नुभयो–‘तर धिग्रहणको अनुमति पाएको छैन ।’

मन्त्रिपरिषदले बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा अधिकरण गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयका सहसचिव कृष्ण प्रसाद दवाडीले जग्गा अधिग्रहणका लागि चाँडै सूचना निकाल्न आयोजनालाई भनेको तर आयोजनाले सूचना निकाल्न बाधा अड्चन देखाएको बताउनुभयो ।

सूचना निकाल्न मन्त्रालयबाट आग्रह भएको छ । आयोजनाले सूचना निकाल्न बाधा अड्चन देखिएकोले मन्त्रालयबाट बाधा फुकाउनु पर्ने कुरा उठेको थियो ।,’ उहाँले भन्नुभयो–‘केही छ भने पठाउनु भनेको हो । पत्र मन्त्रालयका अन्य शाखामा आईपुगेको होला तर म कहाँ आईपुगेको छैन ।

यससँगै प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेपछि आयोजनाले सडकको संरचना बनाएर सम्पन्न गर्नेछ ।
ल्याण्ड पुलिङ अवधारणा अन्तरगत बाहिरी चक्रपथ आयोजनाले चोभार–संतुगल खण्डका लागि १४ हजार जग्गा धनीका ८ हजार रोपनी जग्गा रोक्का गर्दैछ ।

जग्गाप्राप्तिका लागि राजपत्रमा सूचना प्रकाशित भएको ३५ दिन पछि अधिग्रहण प्रक्रियालाई सहज बनाउन आयोजना व्यवस्थापन पक्षले चोभारदेखि सतुंगलसम्मको बाहिर चक्रपथ खण्डलाई चोभार, भत्केको पाटी, मच्छेगाउँ, सतुंगल, गर्जुधारा, धवलागिरि आवास गरी ६ वटा ब्लकमा विभाजन गरिकेको छ । प्रत्येक ब्लकलाई १ किलोमिटरको औसतमा विभाजन गरिएको छ ।

अधिग्रहणपछि जग्गा एकीकरण प्रक्रिया माध्यमद्वारा बाहिरी चक्रपथको अधिकार क्षेत्र (राइट अफ वे)का लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिनेछ । चक्रपथको दुवैतर्फको करिब २ सय ५० मिटर क्षेत्रमा योजनाबद्ध तथा व्यवस्थित सहरी विकास गरिने आयोजनाले जनाएको छ ।

नमुना आयोजनाका रूपमा कार्यान्वयन प्रक्रिया थालिएको यस खण्ड निर्माण गर्नका लागि ६ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत अनुमान गरिएको छ । ०६५ सालमा यस खण्डको लागत २ अर्ब ९ करोड रुपैंयाँ अनुमान गरिएको थियो ।

बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुबै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रीनरी बेल्ट सहित सडक किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्रयाकका लागि ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।
चक्रपथको दायाँबायाँ २५०÷२५० मिटर जग्गा एकीकरण गरिनेछ । यसलाई व्यवस्थित वस्तीका रुपमा विकास गर्न सडक आसपासका ५ सय मिटर क्षेत्रफलमा विभिन्न पूर्वाधारहरु आयोजनाले बनाइदिनेछ ।

सडक आसपासमा आयोजनाले सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्