बिहे गर्न नमान्दा एसिड र छुरा प्रहार



कृष्ण आचार्य, चितवन ।

पूर्वी नवलपुरमा एक युवती माथि छिमेकी युवकले एसिड र छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई छिमेकी युवक विमल सिर्पालीले आइतवार साँझ एसिड छर्किएर छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ । उनको अवस्था गम्भिर छ । भरतपुर अस्पतालको आइसियुको भेन्टिलेटरमा वसन्तीलाई राखिएको छ ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सक डा.सुरेश प्रधानले जानकारी दिनुभयो । एसिड प्रहार गर्ने युवक सिर्पाली नवलपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका सिर्पालीले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएका छन् । नवलपुरका प्रहरी प्रमुख रमेश थापाले प्रि–प्लान गरेर नै विमलले वसन्ती माथि एसिड प्रहार गरेको जानकारी दिनुभयो । गएको तीजमा भारतजाँदा नै एसिड किनेर ल्याएको जानकारी प्रहरीलाई दिएको बयानमा विमलले उल्लेख गरेका छन । विमलले लामो समयदेखि आफु वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएका छन् ।

आइतवार ८ बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी बसन्तीको राती नै अप्रेशन गरिएको छ । उनको दाँहिने र देवे गालाका दुवै तर्फ एसिडका साथैं चक्कु प्रहार गरिएको छ । दाया गालाको हड्डी नै फुटेको छ । देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा. सुरेश प्रधानले बताउनुभयो ।

वसन्ती परियार र विक्रम सिर्पालीको घर नजिकै छ । उनीहरु छिमेकी हुन । वसन्तीका एक छोरा रितिक परियार र छोरी रितिषा परियार रहेका छन् । तरकारी किनेर बजारबाट फर्कदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट वसन्तीको कपाल समातेर अनुहारबाट एसिड खन्याइदिएका थिए । वसन्तीका श्रीमान यमनारायण परियार मलेसियाबाट १ महिना अघि मात्रैं नेपाल आएका थिए । यमनारायण र विमल पनि साथी हुन् ।

विमल साउदी अरवबाट ५ महिना अघि नेपाल आएका थिए । विमल र यमनारायणले १२ बर्ष अघि १४ दिनको फरकमा विवाह गरेका थिए । विमलसँग वस्न नसकेपछि उनकी श्रीमती एक सन्तानसहित माइतमा नै वस्दै आएकी छन् । श्रीमतीसँग डिर्भोसको प्रकृयामा रहेका विमलले वसन्तीलाई आँखा लगाएर हुन सक्ने श्रीमान यमनारायणले बताउनुभयो । वसन्तीका श्रीमान यमनारायणले घटनाका दोषी विमल माथि फाँसीको सजाय हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्