सम्बन्ध बलियो बनाउन नेपाल–क्यानडा सहमत



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल र क्यानडा वीचको सहकार्यलाई फराकिलो बनाउन द्धिपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका क्यानेडियन समकक्षी जस्टिन टुडोले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन अमेरिका पुग्नु भएका ओली र टुडो वीच राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार ‘साइडलाइन’ वार्ताका क्रममा यस्तो सहमति भएको हो । आगामी दिनमा हुन सक्ने सहकार्यका संभावनाबारे उहाँहरु वीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेट पश्चात ट्वीट गर्दै जस्टिनले भन्नुभएको छ–‘क्यानडा र नेपाल अनन्य मित्र हुन्, आज विहान मैले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग दुवै मुलुकको सम्बन्धलाई मजबुत बनाउने बारेमा छलफल भएको छ ।’
सो ट्वीटमा भनिएको छ–‘हामीले प्रजातन्त्र, शुशासन, आर्थिक विकास, समावेशी र समानताका बारेमा छलफल गरेका छौ ।’ यससँगै प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकी प्रथम महिला मेलानिय ट्रम्पले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

महासभामा सहभागी विभिन्न मुलुकका राष्ट्र र सरकार प्रमुख सहित प्रतिनिधीको सम्मानमा आयोजित सो कार्यक्रममा नेपाली प्रतिनिधी मण्डल पनि सहभागी भएको परराष्ट्रले जनाएको छ ।
महासभामा सहभागी हुनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी सुष्मा स्वराज वीच पनि मंगलबार नै भेटवार्ता भएको छ । विगतमा दुवै मुलुक वीच भएका सम्झौता र विकास परियोजनालाई विना अवरोध अघि बढाउने बारेमा उहाँहरु वीच छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्