धौलीगंगा बाँध पुनः खोलियो, सर्तक रहन नदी किनाराका नागरिकलाई सुचना जारी



किरन धामी, दार्चुला ।
भारतको पिथौरागढ जिल्लाको धारचुला छिरकिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध मंगलबार बिहान देखि पुनः खोलिएको छ । धारचुलाको उत्तरी क्षेत्रमा दुई दिन अघि देखी भारी वर्षाका साथै हिमपात भएका कारण ड्याममा पानीका मात्रा अत्याधिक भए संगै मंगलबार विहान बाँध खोलिएको भारतिय सुरक्षा अधिकारीले बताएका छन् ।

बाँधको ढोका मंगलवार बिहान ८ बजेदेखि खोलिएको भारतिय प्रशासनले जनाएको छ । बाँधको ढोका खोलिए संगै महाकालीमा पानीको सतह अरु दिनको तुलनामा बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बहादुर बोहराले जानकारी दिए । बाँधका ढोका खोलिए संगै महाकाली नदि किनारका नेपाल तथा भारतिय बस्तीहरुमा नदि किनारमा नजान दुवै पक्षका सुरक्षाकर्मीहरुले सुचना प्रवाह गरिरहेको उनले जानकारी दिए ।

यसबर्षको वर्षात देखी हाल सम्म छैठौं पटक बाँध खोलिएको छ । धौलीगंगा परियोजनाले बाधँमा पानीको मात्रा बढेको सुचना नेपाली प्रशासनलाई जानकारी गराएको तथा आफुहरुले सोही आधारमा नदि किनारका बस्तीहरुमा सुचाना प्रवाह गरेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।

बाँधबाट एक्कासी पानी बढी छोडिँदा महाकाली नदीमा किनारका बस्तीमा बाढी आउने खतरा हुने भएका कारण बाँध खेल्नु पुर्व भारतिय प्रशासनले नेपाली प्रशासनलाई पुर्व सुचना आदान प्रदान हुदै आएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । पुर्व सुचना विना नै २०७० सालमा बाँधको सबै ढोका खोलिदा महाकालीमा विनासकारी बाढी आएको थियो । बाढीका कारण जिल्ला सदरमुकाम लगायत महाकाली नदि किनारमा ठुलो धनजनको क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्