‘एक घर–एक सीपमूलक रोजगारी’



रामधन राई, खोटाङ

भूकम्पपीडित लाभग्राहीका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना अघि बढाइएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’ को शिलन्यास गर्दै निर्माण योजना अघि बढाइएको हो। स्थानीय भूकम्पपीडतको पहलमा सोही स्थानका शारदाप्रसाद ढकालबाट साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि नेपालकै पहिलो सीपमूलक व्यवसाय तथा जीविकोपार्जनसहितको एकीकृत नमुना वस्ती बनाउने योजना शुरू गरिएको थियो।

उपलब्ध जग्गा प्राविधिक हिसाबले उपयुक्त ठहरिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नगरपालिकाको सहयोग तथा समन्वयमा बस्ती निर्माणको काम अघि बढेको हो।
एकीकृत बस्तीमा घर निर्माण गर्ने पीडितलाई सीपमूलक तालिम प्रदान गरी सोही ठाउँमा रोजगारीको समेत व्यवस्था गर्ने निर्माण उपभोक्ता समितिको संयोजक प्रमेश ढकालले जनाउनुभयो। स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई भरपुर सदुपयोग गर्ने गरी सीपमूलक तालिम तथा रोजगारीको व्यवस्था गर्ने अवधारणा बनाइएको संयोजक ढकालको भनाइ छ। अवधारणा अनुरूप नमुना बस्तीमा उत्पादन गरिएका वस्तु बिक्री गर्नका लागि उक्त स्थानमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी योजना बनाइएको छ। मध्यपहाडी लोकमार्गले छोएको स्थान तथा नगरपालिकाले नजिकै पर्ने बुइपाको पञ्च दोबाटोमा विश्वकै अग्लो यलम्वरको प्रतिमासहितको पार्क निर्माणको योजनासमेत अघि बढाएकाले नमुना बस्तीसम्म पर्यटक तान्न सकिने विश्वास गरिएको छ। पर्यटन विकासको लागि नगरपालिकाले एकीकृत योजनाहरू बनाइरहेका छन्।

राज्यले बनाएको मापदण्डअनुरूप निर्माण गरिने नमुना बस्तीमा २० पीडित तथा ४ अन्य गरी २४ परिवारका लागि नमुना घर बन्ने भएको छ। जसमध्ये १६ वटाको नक्सा पास भइसकेको छ। बस्तीमा घर निर्माण गर्न चाहाने अन्यलाई समेत सःशुल्क तथा निःशुल्क जग्गा उपलब्ध गराउन सकिने जग्गाधनीले जनाएका छन्।

रमणीय स्थलमा निर्माण हुने बस्तीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने विविध योजना बनाइएको बताइएको छ। बस्ती निर्माण हुने स्थानबाट सूर्योदय तथा सूर्यास्तको दृश्य अवलोकनका साथै टेम्के, रूपाकोटलगायतका विभिन्न पहाडी श्रृंखलाको समेत दृश्यपान गर्न सकिन्छ। एकीकृत बस्ती नजिकै राधाकृष्ण मन्दिर, चिल्ड्रेनपार्क, सीपमूलक सामग्रीसहितको सामुदायिक भवन, फ्रि वाईफाई, होमस्टे तथा सामूहिक खेती प्रणालीको अवधारणा अघि सारेको जनाइएको छ। दशैं, तिहारपछि निर्माणको कामलाई तीव्रता दिइने निर्माण उपभोक्ता समितिले जनाएका छन्।

एकीकृत नमुना बस्ती निर्माणको लागि नगरपालिकाले यसअघि नै प्रष्ट अवधारणा बनाएकोमा विजयखर्कका स्थानीयले इच्छााशक्ति देखाउनका साथै समन्वयात्मक काममा चासो देखाएकाले काम अघि बढेको नगर प्रमुख दीपनारायण रिजालको भनाइ छ। नगरपालिकाले प्राधिकरण तथा सम्वन्धित निकायसँग समन्वय गर्नका साथै सुझ–बुझका साथ हात हालिसकेकोले कुनै पनि हालतमा उक्त स्थानमा नमुना बस्ती निर्माण भइछाड्ने मेयर रिजालले प्रष्ट पार्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्