निशाले संगीतमा ल्याइन् अन्तरा



गायिका निशा देसारको एकल गीति अडियो एल्बम अन्तरा सार्वजनिक भएको छ। शनिबार राजधानीमा आयोजित एक समारोहबीच एल्बमको गायक प्रेमध्वज प्रधान, संगीतकार शक्तिबल्लभ श्रेष्ठ, जुगल डंगोल, गायिका निशा देसार, गीतकार हेमन्त ओली र विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै गायक प्रेमध्वज प्रधानले गीतहरू सबै कर्णप्रिय भएको र निशाको स्वरले अझ उत्कृष्ट बनेको बताए। एल्बमका संगीतकार जुगल डंगोलले एल्बमका गीतलाई मौलिक बनाउने प्रयास गरेको बताए भने संगीतकार शक्तिबल्लभले अन्तराभित्र सबै प्रकारका गीत रहेकाले कर्णप्रिय बनेको बताए। गीतकार हेमन्त ओलीले आफ्नो पहिलो एकल एल्बम भएको जानकारी गराए भने गायिका निशा देसारले एल्बमका गीतबारे थप प्रकाश पारिन्। विन्ध्यवासिनी म्युजिकका सुवास रेग्मीले संगीत क्षेत्रको समस्याबारे प्रकाश पार्दै अन्तराका गीतहरू कर्णप्रिय भएकाले उत्पादन र वितरण गरेको बताए। कार्यक्रममा गायिका देसारले एल्बममा संगृहित जलाएर मुटुसहित पाँचै गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्