पशुपतिमा मुहूर्त दार्जलिङमा सुटिङ



लिली बिली जोडी प्रदीप खड्का र जसिता गुरुङको अर्को फिल्म लभ स्टेसनको पशुपतिमा मुहूर्त भएको छ भने सुटिङ दार्जलिङमा हुने भएको छ। प्रदीप र जसिताकै हिट जोडी रहने लभ स्टेसनको सोमबार बिहान पशुपति मन्दिरको प्रांगणमा शुभमुहूर्त गरिएको हो।

पूजाआजापछि प्रदीप खड्का, रमेश बुढाथोकी, प्रकाश शाह, रश्मी पाण्डे, रवि डंगोललगायतका कालकारले मुहूर्त सर्ट दिएका थिए। फिल्मको सुटिङका लागि युनिट आज मंगलबार दार्जलिङतिर लाग्ने भएको छ भने ११ गतेबाट सुटिङ शुरू हुने भएको छ। फिल्ममा रवि डंगोल, श्रद्धा क्षत्री, सिरू विष्ट, प्रिया रिजाल, कालु राना, दिनेश काफ्ले, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गर्नेछन्।

नायक प्रदीपले लिली बिलीमा आफू र जसिताको जोडीलाई दर्शकले निकै रुचाएकाले लभ स्टेसनमा जोडीका रूपमा प्रस्तुत हुन लागेको बताए। प्रेमकथामा आधारित भए पनि विगतभन्दा यो फिल्ममा आफ्नो भूमिका फरक हुने प्रदीपले दाबी गरे। फिल्म उज्वल घिमिरेले निर्देशन गर्दै छन्। फिल्म प्रेम र सामाजिक कथामा आधारित हुने निर्देशक घिमिरेले बताए। फिल्ममा लेखन निर्देशक घिमिरेका साथमा सुवास सिंह बस्न्यातको रहेको छ भने संगीत शम्भुजित बासकोटा, दीपक शर्मा, अर्जुन पोखरेल र एलिश कार्कीको, कोरियोग्राफी विक्रम स्वाँर र शिशिर खाती, छायांकन कुमार महर्जन, छायांकन आलोक शुक्लको रहनेछ। काफिया फिल्म्स्को ब्यानरमा गोविन्द शाहीको प्रस्तुति रहने फिल्म काफिया शाही ‘क्रिस’ र कविरविक्रम शाहीको निर्माणमा बन्दै छ।

प्रतिक्रिया दिनुहोस्