८ तहको संरचना बनाउन सुझाव



काठमाडौं (नेस)
नेपाली काँग्रेस विधान मस्यौदा समितिलेले तयार पारेको प्रारम्भिक मस्यौदा माथिको सुझाव संकलनलाई तीव्रता दिएको छ । सातै प्रदेशबाट सुझाव संकलन गर्ने क्रममा काग्रेसले हिजो सोमबार प्रदेश १ को ईलाम, प्रदेश ३ को काठमाडौं र कर्णली प्रदेशको सुर्खेतमा छलफल गरी सुझाव संकलन गरेको छ ।

प्रदेश ३ को लागि पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा काठमाडौँ, ललितपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुरका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेन प्रतिनिधि तथा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य सहित ३ सय ७६ जना र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरुले छलफलमा भाग लिएका थिए ।

प्रदेश १ को इलामा भएको छलफलमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य १ सय ७३ जना र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशमा भएको छलफलमा सुर्खेत, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, रुकुम (पश्चिम भाग), र सल्यानका प्रतिनिधि आएको काग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रस्तावित विधानका बारे छलफल गर्न प्रदेश स्तरीय भेला शुरु

पार्टी केन्द्रिय कार्यालयमा भएको छलफल आज मंगलबार सम्म चल्ने छ । सभापति शेरवहादुर देउवाको प्रमुख आतिथ्यमा भएको छलफलमा विधान मस्यौदा समितिबाट दिलेन्द्रप्रसाद बडु, सीता गुरुङ र सचिव प्रेम केसीले सुझाव संकलन गरिरहेका छन् । प्रदेश ३ को लागि असोज ११ र १२ गते काभ्रेको धुलिखेलमा पनि भेला गरेर सुझाव संकलन गरिदै छ ।

धुलिखेलमा काभ्रे, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरु उपस्थित हुदैछन् ।

पार्टी केन्द्रिय कार्यालयमा भएको भेलामा सभापति देउवाले संविधान अनुसार पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न विधान मस्यौदा समितिलाई आग्रह गर्नुभएको थियो । संविधान सभाबाट अत्यन्त राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसको विधान पनि राम्रो हुनुपर्ने उहाको भनाई थियो । साथै उहाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व काँग्रेसले नै लिने बेला आएको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरु अल्मलिएर बस्न नहुने बताउनु भएको थियो ।

संशोधित विधान मस्यौदामामा पदाधिकारी संख्या बढाउने, केन्द्र देखि गाउ टोल सम्म गरी ८ तहको पार्टी संरचना रहने, केन्द्रिय कार्यसमिति सदस्यको संख्या बढाउने, हरेक समितिको नेतृत्वमा न्युनतम ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्ने लगाएत छन् ।
विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदाको सातै प्रदेशमा दफावार छलफल गरि एकिकृत गरिने मस्यौदा समितिका संयोजक खड्काले बताउनु भएको छ ।

प्रारम्भिक मस्यौदा माथि ७ प्रदेशको १२ स्थानबाट छलफल गरि सुझाव संकलन गरिदै छ । मस्यौदा समितिले तयार पारेको संशोधित विधानलाई केन्द्रिय समितिले महासमिति बैठकमा लैजानु पर्छ केन्द्रिय समिति भन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति बैठक मंसिर ५ देखि ९ गते सम्म काठमाडौंमा बस्दैछ । यो बैठकको मुख्य एजेण्डा । विधान संशोधन तथा परिमार्जन गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्