सरकारको चेपुवामा सवारी चालक अनुमतिपत्र



कृष्णउदास खनाल, वीरगन्ज
प्रदेश नं २ मा सवारीचालक अनुमतिपत्र वितरणका लागि प्रदेश सरकारको मन्त्रालयले दिएको आदेशलाई यातायात व्यवस्था कार्यालयले नमानेपछि सवारी चालक अनुमत्रि पत्र बितरण कार्य रोकिएको छ ।

दुई नम्बर प्रदेशको सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव जीवछ मण्डलले भदौ ११ गते नै नारायणी (वीरगन्ज, जनकपुर (जनकपुर) र सगरमाथा (लहान) कार्यालयलाई सवारीचालक अनुमतिपत्र वितरणको लागि लिखितपत्र दिएको भएपनि वितरण नभएको भन्दै कारबाई गर्ने बताएका थिए तर यो कार्यान्यवन भएको छैन । उनले सम्बन्धित कार्यालयका प्रमुखहरूलाई बोलाएर छलफल गरिएको र त्यसपछि भदौ ११ गते लिखितपत्रद्वारा सवारीचालक अनुमतिपत्र वितरण गर्न निर्देशन दिएको बताए ।

मन्त्रालयस्तरीय निर्देशनको अवज्ञा भएको भन्दै सचिव मण्डलले असोज ४ गते पुनः सचेतपत्र पठाइएको र आगामी दिनमा पनि सवारीचालक अनुमतिपत्र वितरण नगर्ने कार्यालयलाई कारबाई गर्ने प्रतीकलाई बताए । दाबी गरे । यातायात व्यवस्था विभागले असार महिनामा सवारीचालक अनुमतिपत्र वितरणमा रोक लगाएको थियो ।

त्यसपछि साउन १३ गतेदेखि सबै प्रदेशमा सवारीचालक अनुमतिपत्र वितरण गर्न निर्देशन जारी गरेको थियो तर विभागको निर्देशन प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयले मान्न बाध्य नहुने भन्दै प्रदेश नं २ सरकारले विभागीय निर्देशन मुख्यमन्त्रीको कार्यालयमा आउनुपर्ने र मुख्यमन्त्रीले आप्mनो विभागलाई सोबारे जानकारी गराउनुपर्ने भन्दै प्रदेश नं २ मा सवारीचालक अनुमतिपत्र वितरण प्रक्रियामा रोक लगाएको थियो ।

त्यसपछिका दिनमा सवारीचालक अनुमतिपत्र खुला गर्न प्रदेश सरकारको निर्देशनलाई अहिले यातायात व्यवस्था कार्यालयले टेरपुच्छर लगाएको छैन । सवारीचालक अनुमतिपत्र वितरण नहुँदा प्रदेश सरकारलाई दैनिक रु २८ लाख राजस्व घाटा भइरहेको छ ।तर,यातयात कार्यालयका कर्मचारीहरुले भने केन्द्रीय सरकारले निर्देशन नदिएका कारण चालक अनुमति पत्र बितरण नगरिएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्