सफलताका आधारहरु क्षीण



राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, मन्त्री सबैको मुखमा झुन्डिएको नारा हो ‘सुखी नेपाली र समृद्ध नेपाल’ । यो नारा र सरकारको काम गराइमा सामञ्जस्यता आउन सकेको देखिँदेन । यतिखेर दैनिक अत्यावश्यक पर्ने तरकारीदेखि इन्धनसम्मको अचाक्ली मूल्यवृद्धिले जनता आक्रान्त भएका छन् । पेट्रोेलियम पदार्थमा सरकारले चारपटक मूल्य वृद्धि गरिसकेको छ । दशैँको मुखमा आएर सार्वजनिक यातायातको भाडासमेत बढाइएको छ । गाडीभाडा बढेपछि अब अन्य वस्तुमा पनि कृत्रिम मूल्यवृद्धि नहोला भन्न सकिन्न । चाडबाड नजिकिँदै गर्दा खर्चको जोहो गर्न नसकिएला कि भनेर चिन्तित सर्वसाधारणको जीवन झनै कष्टकर हुने भएको छ । यस्तो अवस्थामा सरकारको ‘सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा बेमौसमी बाजाजस्तो साबित भएको छ ।

दशैँको मुखमा आवागमन सहज गर्न भन्दै भाडा बढाउनेमा सरकारले सहमति जनाएको छ । तरकारीको भाउ आकाशिएकोमा मन्त्रीले समेत कालिमाटी बजारमा अनुगमन गरेको धरै दिन बितेको छैन । यो राष्ट्रमा केही होला भन्ने आशाको संकेतसम्म नपाएर विदेशिने युवावर्गको संख्या दिन–प्रतिदिन बढिरहेको छ । तर पनि सरकार समृद्धिको नारा भट्याउन छाडेको छैन । समृद्धिको नारालाई घाममा सुकाएर राजनीतिक दलका नेता र तिनका आसेपासहरु राज्यको स्रोत–साधनको दोहनमा लागिरहेका छन् । अहिलेसम्मको घटनाक्रमले आमनेपाली सुखी नभई बिचौलिया, आफ्नो स्वार्थ छोड्न नसक्ने नेता, उच्चपदस्थ कर्मचारी, पहुँचवालाहरु सुखी छन् भन्ने देखाएको छ । प्रत्येक नेपाली रोजगारीको अभावले गरिबीको मारमा पिल्सिँदै जाने र ठाटाबाठाहरुको समृद्धि हुँदै जाने अवस्था उत्पन्न भएको छ । दुई तिहाइको बलमा उभिएको सरकारले समृद्धिको दिशामा माखोसमेत मार्न नसकेको र भविष्यमा मार्ने संकेत पनि नदेखाउनुले समस्याका चाङले थिचिएका नेपालीलाई झनै निराशा तुल्याएको छ ।

आखिर सुखी नेपाली र समृद्ध नेपालको अवधारणा आफैंमा अमूर्त भएको छ । त्यसको मूर्तरुपमा परिभाषा गरेर जनताको जनजीवन सहज पार्नेमा सरकारको ध्यान गएको आभास पनि जनताले गर्न सकेका छैनन् । यस्तो अवस्थाले राजनीतिक स्थिरता भए पनि देश समृद्धिको दिशामा अघि बढ्न सक्ने देखिँदैन । सुखी र समृद्धिको नारा चुनावी नारासिबाय अरुथोक होइन भन्ने धारणा जनमानसमा बलियो बन्दै गएको छ । आखिर सरकार राज्यको सुविधा भोग्ने एकमात्र लक्ष्य ठानेर आत्मरतिमा त रमाइरहेको छैन ? जनतामा हल्काफुल्का ठट्टा गरेर निराशा र समस्यालाई छोप्ने अनि भ्रम फैलाउने कार्य त सरकारी तवरबाट भइरहेको छैन ? भन्ने प्रश्नहरु सर्वत्र उठ्न थालेका छन् । आइपरेका समस्याको स्थायी समाधान खोज्ने भन्दा पनि ती समस्यालाई सामान्य टालटुल गरी नागरिकलाई भ्रममा पार्ने काम भइरहेको छ । यतिखेर सरकार असफल भयो भन्ने बेला भइनहाले पनि सफल हुनेमा आधारहरु क्षीण बन्दै गएको आभास बढ्दै भएको छ । त्यसैले अब सरकार सचेत हुनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्