‘राजधानीका लागि काभ्रे उपयुक्त’



मोतीराम तिमल्सिना, काभ्रे
प्रदेश नम्वर ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी तत्काल तोक्न आग्रह गरेका छन् । ‘राजधानी नतोक्दा न विकास निर्माण भयो, न राजधानीका लागि मकवानपुर पायक बन्यो’–मन्त्री स्थापितले भने ।

प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले अन्र्तराष्ट्रिय स्तरको पार्क सहितको संरचना निर्माण गर्ने उदेश्यले सम्भाब्यता अध्ययनका लागि २ करोड रकम विनियोजन गरेको छ । उक्त बजेट कार्यान्वयन र उदेश्यका बारेमा जानकारी दिदै मन्त्री स्थापितले तत्काल राजधानी तोकी काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । ‘न कर्मचारी बस्ने स्थान छ, बसेका कर्मचारी होटलमै खाने र सुत्ने गर्दा तलब सबै सकिएको छ, सासदहरु समेत बैठक सकिए लगत्तै दौडिनु पर्ने बाध्यता छ, हेटौडामा न केहि काम छ, न केहि गर्न सकिन्छ’–मन्त्री स्थापितले भने–‘राजधानी र अन्य उपयुक्त विकासका लागि काभ्रेपलाञ्चोक जिल्ला उपयुक्त हुन्छ ।’ जिल्लाको ब्यापारीक केन्द्र समेत रहेको बनेपालाई राजधानीको केन्द्र र ब्यापारीक हबसँगै विकासको हब मार्फत आर्थिक इन्जिन बनाउनु पर्नेमा स्थापितले जोड दिए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा बोल्दै मन्त्री स्थापितले बनेपा र आसपासको क्षेत्रलाई क्रिकेट स्टेडियम, स्वास्थ्य बाटिका, एकिकृत बस्ति, विश्व अध्ययन केन्द्र, नाट्य घर निर्माण, हिलेजलजलेमा ताल निर्माण गरी खानेपानी र सिंचाईको ब्यवस्थापन, लायकु दरवारको पुननिर्माण पछि पर्यटकले हेर्ने आर्कषण स्थान बनाउन प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउने बताए ।

बनेपा नगरपालिका १२ मा रहेको बासुकी थुम्कीलाई पर्या पर्यटन केन्द्रका रुपमा विकास गर्न कुन कुन विकासको मोडल अपनाउँदा सम्भव छ ? कसरी ब्यक्तिहरुले उक्त क्षेत्रमा आएर खर्च गर्न सक्ने अवस्था बन्न सक्छ ? सम्भाब्यता अध्ययनका लागि २ करोड रकम विनियोजन भएको र प्रदेश सांसद बसुन्धरा हुमागाईले अन्य शिषर्कबाट समेत उक्त क्षेत्रका लागि ३० लाख रकम विनियोजन भएको बताए ।

विश्वको अध्ययन केन्द्र बनाउन नाट्य घर, फिल्म तथा नाटक लेखन र चिन्तन गर्ने एकान्त र आनन्दको स्थान बनाउन काभ्रेपलाञ्चोक जिल्लालाई राजधानी बनाउनु पर्नेमा आफ्नो समेत मत रहेको मन्त्री स्थापितले बताए । ६ वर्ष देखि काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरुमा अध्ययन गरी बासुकी स्थानलाई उपयुक्त स्थान ठानेर रकम विनियोजन गरेको बताए ।

प्रदेश सासद बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, बनेपा नगरपालिका प्रमुख लक्ष्ग्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे लगायतले बनेपा नगरको विकासमा प्रदेश सरकारको समन्वय र सहकार्यमा प्रतिवद्ध रहेको बताए ।

सम्भाब्यता अध्ययनका लागि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव सिनियर डिभिजन इन्जिनियर शरद मानन्धर, इन्जिनियर घनश्याम श्रेष्ठ र कल्पना देवी शाक्य सहभागि भएका थिए । केहि वर्ष भित्रै उक्त स्थानमा विश्व स्तरको संरचना निर्माण गरिसक्ने मन्त्री स्थापितले बताए ।

प्रतिक्रिया दिनुहोस्