बलात्कार, हत्या र दुव्र्यवहारका दोषीलाई उन्मुक्ती नदिन माग



रामधन राई, खोटाङ ।
अन्तरपार्टी महिला सञ्जाल खोटाङले समाजमा बढिरहेको बलात्कार, हत्या र दुव्र्यवहारप्रति ध्यानकार्षण जनाउँदै दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् । जिल्लामा क्रियाशील सञ्जालले बलत्कारपछि हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त लगायत दर्जनौं महिला हिंसाका घट्नामा संलग्न दोषीलाई पहिचान गरेर कडाभन्दा कडा सजाय दिनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै सञ्जालले महिलामाथिको हिंसाका घटना पुनः दोहोरिन नदिन प्रहरी र प्रशासनलाई जिम्मेवार र संबेदनशील बनाउन गम्भिरतापुर्वक कदम चाल्न आग्रह गरेको छ । न्याय माग्न सडकमा निस्किएका पीडितमाथि भएको दमनले सार्वजनिक पद धारण गरेका व्यक्तिले अपराधीलाई संरक्षण गर्न खोजेको आशंका बढेको अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष मनकुमारी रसाईलीले बताउनुभयो ।

 

जाँड रक्सी, जुवा, तास, लागू औषध दुव्र्यसनी लगायतका कारण पनि महिलामाथिको हिंसा बढिरहेको सञ्जालले जनाएको छ । महिला सञ्जालले सभ्य, सुसंस्कृत, नैतिकवान र समुन्नत समाज निर्माणका लागि अभियान चलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

९ महिनाको दुधे बालिकादेखि ७० वर्षकी बृद्धा समेत बलत्कारको शिकार भइरहेका घटनाले सिंगो मानव अधिकारको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।

 

पुर्वसभाषद दुर्गाजयन्ती राईले महिला हिंसा रोक्नका लागि पर्याप्त कानून व्यवस्था गरेर अपराधीलाई कडा सजाय दिने व्यवस्था दिनुपर्नेमा जोड दिनुभएको छ । समाजमा बिद्यमान बिकृति, बिसंगती, अन्धबिश्वास, अशिक्षा र पछौटेपन अन्त्यका लागि अभियान चलाउनुपर्ने उहाँको धारण छ ।

महिला हिंसाका दोषीलाई नछाड्न प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष मनकुमारी रसाईली ।

प्रतिक्रिया दिनुहोस्