स्वास्थ्यचौकीको ताला चार दिनपछि चार दिनका लागि खुल्यो



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको तल्लादेही स्वास्थ्यचौकीमा बिहीबारदेखि गरिएको तालाबन्दी सोमवार खोलिएको छ । तालाबन्दी गर्ने पक्षले स्वास्थ्यचौकी र वडा कार्यालयमा निवेदन दिएर यही असोज १२ गते सम्मका लागि ताला खोलेको हो ।

वडामा भोलीदेखि सञ्चालन हुने खोप कार्यक्रमलाई मध्यनजर राखेर तालाबन्दी खोलेको ताला लगाउने पक्षले जानकारी दिएको छ । स्वास्थ्यचौकीमा गरिएको तालाबन्दी खुलेपछि स्वास्थ्यचौकीले प्रदान गर्ने सेवाहरु सुचारु भएका स्वास्थ्यचौकीमा इन्चार्ज हेमन्तसिंह साउँदले जानकारी दिए । ताला लगाउने पक्षले स्वास्थ्यचौकी र वडा कार्यालयमा दिएको निवेदनमा असोज १२ गतेभित्र पनि ल्याब असिष्टेन्टका बिषयमा उचित निकास नदिए वडा कार्यालय र स्वास्थ्यचौकीमा तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ ।
नगरपालिकाले ल्याब असिष्टेन्टका लागि दरबन्दी आह्वान गरेको र सो दरबन्दीमा स्थानीयलाई छनौट नगरेर बाहिरको मान्छे छनौट गरेको भन्दै ल्याब असिटेन्टका उम्मेद्वार लोकेश कुमार भण्डारी र उनका सहयोगीले गएको बिहीवारदेखि तालाबन्दी गरेका थिए ।

नगरपालिकाले स्थानियलाई प्राथमिकता दिइने भनेर कर्मचारीको आवश्यकता माग गरेको भएपनि पछी आएर बाहिरको मान्छेलाई नियुक्त गरेको उनीहरुको आरोप रहेको छ ।

यता नगरपालिकाले भने, स्थानिय भनिएका लोकेश कुमार भण्डारीको सबै कागजातहरु नपुगेकाले नगरपालिका भित्रकै अर्को ब्यक्तिलाई ल्याब असिष्टेन्ट नियुक्त गरेको जनाएको छ । निज भण्डारीबाट मागिएका अन्य कागजात नपुग्नुको साथै उनको नागरिकतामा समेत कञ्चनपूरको देखतभूली ठेगाना रहेको नगर–उपप्रमुख जानकी बमले बताईन् । उनले भनिन्“ अहिले पनि पुर्चौडी नगरपालिकाकै वडा न.८को मान्छेलाई कर्मचारी नियुक्त गरेका छौ, अर्को स्थानिय तह अथवा अर्को जिल्लाको मान्छे ल्याएर राखेका छैनौँ र लोकेशलाई कागजात ल्याउ भनेर पटक पटक भन्दा समेत ल्याएनन् र अर्कोब्यक्तिलाई ल्याव असिष्टेन्ट नियुक्त गरेका हौँ”
चार दिनदेखि गरिएको तालावन्दीपछी सामान्य बिरामीलाई दिन नसकिएका सेवाहरु ताला खुलेसंगै सुचारु भएका स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्